• १६ वैशाख २०८१, आइतबार

उपनिर्वाचन : फागुन २८ गते मतदाता नामावली प्रकाशन हुने

blog

काठमाडौं, फागुन १६ गते । निर्वाचन आयोगबाट वि.स २०८१ वैशाख १५ गते हुने उपनिर्वाचनका लागि मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम, २०८० स्वीकृत भएको छ । यस कार्यक्रमअन्तर्गत २०८० फागुन २८ गते आयोगको वेबसाइट (www.election.gov.np) मा मतदाता नामावली प्रकाशन गरिनेछ ।

उक्त मतदाता नामावलीमा रहेका त्रुटि सच्याउन, दोहोरो नाम हटाउन, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन र झुट्टा विवरण दिई नाम समावेश भएको भए उजुरी दिन यही फागुन २९ गतेदेखि चैत्र ५ गतेसम्मको अवधि निर्धारण गरिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । प्रवक्रा पौडेलका अनुसार उक्त अवधिमा अनलाइन https://applyvr.election.gov.np वा सम्बन्धित निर्वाचन कार्यालय वा वडा कार्यालयमार्फत निवेदन, सूचना र उजुरी दिन सकिने छ ।

यसरी प्राप्त निवेदन, सूचना र उजुरी उपर कानुन बमोजिम छानबिन गरी मतदाता नामावली अद्यावधिक गरिने छ । अद्यावधिक गरी तयार गरिएको अन्तिम मतदाता नामावली मिति  चैत्र २२ गते प्रकाशन गरिने कार्यक्रम रहेको छ ।

निर्वाचनमा उम्मेदवारी दर्ता गर्न र मतदान गर्न मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने कानुनी व्यवस्था भएको हुँदा आफ्नो मतदाता विवरणमा रहेका त्रुटि सच्याउने लगायतका उल्लेखित कार्यक्रममा सहभागी हुन आयोगले आह्वान समेत गरेको छ । साथै त्रुटिरहित र अद्यावधिक मतदाता नामावली स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनको मूल आधार भएकोले उल्लिखित कार्यक्रममा प्रचारप्रसार, समन्वय, सहयोग र सहकार्यका लागि राजनीतिक दल, सञ्चार माध्यम एवम् सरोकारवाला सबैमा आयोगको आग्रह छ ।