• १३ असोज २०८१, आइतबार

जितको मुखमा पुगेको नेपाल नेदरल्यान्ड्ससँग दुई रनले पराजित

blog

नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपालका खेलाडी । । तस्बिरहरु : विकास द्वारे र क्यान

काठमाडौँ, फागुन १६ गते । नामिबिया र नेदरल्यान्ड्ससम्मिलित त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको दोस्रो खेलमा जितको नजिक पुगेको नेपाल नेदरल्यान्ड्ससँग दुई रनले पराजित भएको छ ।

अन्तिम तीन बलमा चार रन चाहिएको अवस्थामा दीपेन्द्रसिंह ऐरी आउट भएपछि नेपाल अभागी बनेको थियो । जारी सिरिजमा नेपालको यो लगातार दोस्रो हार हो । अघिल्लो खेलमा मङ्गलबार नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । 


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार जितमा लागि नेदरल्यान्ड्सले दिएको एक सय ८५ रनको विजयी लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ८२ रनमा समेटिएको थियो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरी र कप्तान रोहितकुमार पौडेलले अर्धशतकीय पारी खेलेपनि टोलीलाई जिताउन सक्नुभएन । दीपेन्द्रले सर्वाधिक ६३ रन बनाउनुभयो । यस्तै कप्तान रोहितले ५०, आशिफ शेखले ३४, कुशल मल्ल र करण केसीले समान ११/११ रन बनाउनुभयो ।


बलिङमा नेदरल्यान्ड्सका रोलोफ भान डेर मार्वे र साइब्रान्ड एङ्गेलब्रेख्तले दुई दुई विकेट लिनुभयो । भिभियन किंगमा र आर्यन दत्तले एक एक विकेट झार्नुभयो । 


यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक सय ८४ रन बनाएको थियो । नेदरल्यान्ड्का लागि अन्तर्राष्ट्रिय टी–२० मा डेब्यू गर्नुभएका माइकल लेभिटले अर्धशतकीय रन बनाउनुभयो । उहाँले ५४ रन जोड्नुभएको हो ।


यस्तै साइब्रान्ड एङ्गेलब्रेख्तले अविजित ४९, कप्तान स्कट इड्वार्डसले ३३ र तेजा निदामानुरुले ३१ रन बनाउनुभयो । बलिङमा नेपालका करण केसी र कुशल मल्लले एक एक विकेट लिनुभयो । नेपालले सिरिजको तेस्रो खेल शुक्रबार नामिबियासँग खेल्नेछ ।