अर्घाखाँची, फागुन १६ गते । अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा रहेको बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा दक्ष जनशक्ति नहुँदा भिडियो एक्स-रे सेवा सञ्चालन हुन सकेको छैन ।
छत्रदेव गाउँपालिका-२ बल्कोटमा रहेको यस प्राथमिक केन्द्रमा दुईवटा भिडियो एक्स-रे उपकरण रहे पनि दक्ष जनशक्तिको अभावमा एक वर्षदेखि सो सेवा सञ्चालन हुन नसकेको त्यहाँका प्रमुख विष्णु खनालले बताउनुभयो । भिडियो एक्स-रे गर्ने चिकित्सक अध्ययन बिदामा गएपछि विगत एक महिनादेखि यस्तो समस्या भएपछि सेवाग्राही भिडियो एक्स-रे गर्न जिल्ला अस्पताल सन्धिखर्क र निजी क्लिनिकमा जान बाध्य भएका छन् ।
भिडियो एक्स-रे सञ्चालन नहुँदा गर्भवती बढी मर्कामा परेका छन् । चिकित्सक आरोग्य खनालले बताउनुभयो । उक्त केन्द्रमा चौबिस घण्टा प्रसूति सेवा, ओपिडी, ल्याब, बिमालगायत सेवाहरू प्रदान हुँदै आएकाले अर्घाखाँचीको छत्रदेव गाउँपालिका, पाणिनी गाउँपालिका र गुल्मीको छत्रकोटका बासिन्दा पनि लाभान्वित हुँदै आएका थिए ।
जर्नल एक्स-रे पनि दक्ष जनशक्तिको अभावमा सोही केन्द्रका कार्यालय सहयोगी रेनुप्रसाद खनालले सञ्चालन गर्दै आउनुभएको थियो । तालिमको भरमा सात वर्षदेखि एक्स-रे सञ्चालन गर्दै आएकामा अहिले प्राविधिक समस्याका कारण यो पनि चलाउन नसकिएको उहाँको भनाइ थियो । रासस