• ११ मंसिर २०८१, मङ्गलबार

सिमकोट गाउँपालिकाको स्थानीय पाठ्यक्रम

blog

पुस्तकका रुपमा छापिएको स्थानीय पाठ्यक्रमका पुस्तक । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, फागुन १४ गते । सिमकोट गाउँपालिकाले यसअघि मस्यौदाको रूपमा रहेको स्थानीय पाठ्यक्रमलाई पुस्तकका रूपमा तयार पारेको छ । यसै शैक्षिक सत्रबाट विद्यालयमा पठनपाठन गर्ने उद्देश्यका साथ सिमकोटले स्थानीय पाठ्यपुस्तक तयार पारेको हो । 

गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका नायव सुब्बा कृष्ण प्रसाद आचार्यले स्थानीय पाठ्यक्रम “हाम्रो सिमकोट” लाई अन्तिम रूप दिँदै छपाई गरेर पुस्तकका रूपमा छापिएको बताउनुभयो । उहाँले स्थानीय पाठ्यक्रमको पुस्तक छापिएर जिल्लामा आइपुगेको र अब चाँडै विद्यालयहरूलाई वितरण गरिने बताउनुभयो । हाललाई दुई सय थान पाठ्यक्रमका पुस्तक छापिएर कार्यालयमा पुगेका छन् । 

पाठ्यक्रमलाई अन्तिम रूप दिनका लागि गत पुस ७ गते सरोकारवाला पक्षसँग राय सुझाव माग गरिएको थियो । अब स्थानीय पाठ्यक्रम तयार भएको र आगामी फागुन १६ गतेबाट विद्यालयमा पठनपाठन सुरु भएपनि गाउँपालिकाका २५ वटै सामुदायिक र संस्थागत विद्यालयहरूमा पढाई सुरु हुनेछ । यो पाठ्यक्रम कक्षा एकदेखि आठसम्मको तयार गरिएको छ । कक्षा अनुसार एकदेखि तीनसम्म पाठ्यक्रमले समेटेका विषयहरूमा गाउँ र वडाको सामान्य परिचय, स्थानीय प्राकृतिक श्रोत तथा सम्पदा र पर्यटकीय स्थलको पहिचान, भाषिक, सांस्कृतिक, भौगोलिक, धार्मिक, शैक्षिक सचेतना विकास, स्थानीय परम्परागत खेल, पेसा, व्यवसाय र प्रविधिसँग परिचित, घरभित्र र बाहिर हुने विपद्को पहिचान र स्थानीय कृषिसँग परिचित छन् । 

त्यसैगरि कक्षा चारदेखि पाँचसम्मको पाठ्यक्रममा सिमकोटको संक्षिप्त परिचय, नक्शांकन र अवस्था पहिचान, स्थानीय धार्मिक ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय स्थलको परिचय महत्वबोध, स्थानीय स्तरको सामाजिक आर्थिक, भाषिक तथा शैक्षिक अवस्थाको पहिचान, स्थानीय परम्परागत खेल, पेसा व्यवसाय, प्रविधि प्रति सम्मान तथा सीपको अभ्यास, स्थानीय कृषिसँग परिचित र अभ्यास, प्राकृतिक विपद् र मानव सृजित विपद्का प्रभाव तथा असरहरू बताउन, स्थानीय प्रकोप तथा जोखिमका क्षेत्रहरूको पहिचान र स्थानीय स्तरका प्राकृतिक श्रोत तथा जैविक विविधताको पहिचानका आधार कक्षामा पठन पाठन गर्न सकिनेछ । 

कक्षा छदेखि आठको स्थानीय पाठ्यक्रममा समेटिएका विषयहरूमा सिमकोटको संक्षिप्त परिचय, नक्शांकन र इतिहासको जानकारी, सिमकोटको सामाजिक, आर्थिक शैक्षिक अवस्थाको पहिचान, सिमकोट भित्रको भाषा, लोक साहित्य, भेषभूषा चाडपर्व, रीतिरिवाज, संस्कार र संस्कृतिको खोजी पहिचान र संरक्षण, स्थानीय धार्मिक तथा पर्यटकीय स्थलहरूको खोज, पहिचान र संरक्षणमा तत्परता, स्थानीय कृषिसँग परिचित र अभ्यास, स्थानीय परम्परागत पेसा, सीप, व्यवसाय र प्रविधिको परिचय, महत्त्व, सम्भावना र सीपको अभ्यास, स्थानीय स्तरका प्राकृतिक श्रोत तथा जैविक विविधताको पहिचान र खोजी, स्थानीय प्रकोप र जोखिम व्यवस्थापनको अवधारण बोध र व्यवस्थापनमा सहयोग, वन पैदावार, खोलानाला, दह, कुण्ड, नदी, हिमालको पहिचान र महत्त्व छ ।