• १९ असार २०८१, बुधबार

गण्डकी प्रदेशसभामा एमालेका तीन सङ्कल्प प्रस्ताव

blog

एमाले संसदीय दलका नेता खगराज अधिकारी सङ्कल्प प्रस्ताव दर्ता गर्नुहुँदै । तस्बिर : फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी

लेखनाथ, फागुन १६ गते । गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन बुधबारदेखि सुरु हुँदै छ । अधिवेशन सुरु हुनुअघि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बुधबार बिहान तीन वटा सङ्कल्प प्रस्ताव दर्ता गराएको छ ।

एमालेले सुस्ता गाउँपालिकालाई गण्डकी प्रदेशमा राख्न कानुनी प्रक्रिया सुरु गर्न माग गर्दै सङ्कल्प प्रस्ताव दर्ता गराएको छ । एमाले संसदीय दलका नेता खगराज अधिकारीले संविधानमा गण्डकीमा राखिएको राखिएको सुस्ता गाउँपालिका पछि लुम्बिनी प्रदेशमा राखिएको भन्दै प्रस्ताव दर्ता गराउनुभएको हो ।

एमाले संसदीय दलका उपनेता देवका पहारीले पोखरा क्षेत्री अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्न सङ्कल्प प्रस्ताव दर्ता गराउनुभएको छ । एमाले सांसद सुधीरकुमार पौडेलले कालीगण्डकी डाइभर्सनसँग सम्बन्धित प्रस्ताव दर्ता गराउनुभएको छ । सङ्घ सरकार स्थानीय पालिकासँग समन्वय नगरी कालिगण्डकी डाइभर्सन गर्न खोजेको भन्दै त्यसलाई खारेज गर्नुपर्ने माग गण्डकी प्रदेशले उठाउनुपर्ने माग गर्दै प्रस्ताव दर्ता भएको हो ।

मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले फागुन ६ गते अधिवेशन आह्वान गर्नुभएको थियो । बुधबार दिउँसो २ बजेबाट सुरु हुने अधिवेशनको बिजनेसमा अहिलेसम्म चार विधेयक छन् । प्रदेशसभाका विषयगत समितिबाट पारित भएका गण्डकी प्रदेशमा बीउबिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक यो अधिवेशनमा पेस हुनेछन् ।

गण्डकी प्रदेशमा सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मतसंहार गर्ने सम्बन्धमा बनेको विधेयक मङ्गलबार प्रदेशसभामा दर्ता भएको छ । यसअघि नै गण्डकी प्रदेश प्राइभेट फर्म दर्ता ऐन २०७८ लाई संशोधन गर्न बनेको विधेयक सभामा दर्ता भइसकेको छ ।

प्रदेशसभाका उपसचिव प्रेम सुवेदीले गण्डकी प्रदेश प्राइभेट फर्म दर्ता ऐन २०७८ लाई संशोधन गर्न बनेको विधेयक सदनमा टेबुल हुने जानकारी दिनुभयो । बुधबारको बैठकमा विधेयकहरु दर्तासहित दलका संसदीय दलका नेताहरुले सम्बोधन गर्ने कार्यसूचीे छ । सङ्कल्प प्रस्तावहरुमाथि छलफलको मिति सभामुखले तय गर्न सक्ने प्रदेशसभा नियमावलीमा व्यवस्था छ ।