लीलाराज खड्का
बिर्तामोड, फागुन १६ गते । बिर्तामोड उद्योग वाणिज्य सङ्घको अध्यक्षमा लोकतान्त्रिक व्यावसायिक प्यानलका राजु न्यौपाने निर्वाचित हुनुभएको छ । मतगणनाको बुधवार अन्तिम मतपरणिाम अनुसार राजु न्यौपानेले २ हजार २२५ मत ल्याएर निर्वाचित हुनुभएको छ ।
उनका प्रतिस्पर्धी स्वतन्त्र व्यावसायिक प्यानलका अर्जुनकुमार मैनालीले १ हजार ५२० मत मात्र प्राप्त गर्नुभयो । न्यौपाने ७०५ मतको अन्तरले विजयी हुनुभएको हो । न्यौपानेलाई नेपाली काँग्रेसको समर्थन थियो भने मैनालीलाई एमाले, राप्रपा माओवादीको साथ थियो । निर्वाचनमा बहुमतसहित लोकतान्त्रिक प्यानल विजयी बनेको छ । केही पदमा स्वतन्त्र प्यानलका उम्मेदवारहरू विजयी भएका छन् ।
१९ सदस्यीय कार्यसमितिका लागि भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष, जनसम्पर्क उपाध्यक्ष, कोषाध्यक्ष, तीन खुला सदस्य र एक महिला सदस्यबाहेक बाँकी १२ पदमा लोकतान्त्रिक प्यानलले वर्चस्व कायम गरेको हो । वरिष्ठ उपाध्यक्ष पदमा स्वतन्त्र प्यानलका राजकुमार घिमिरे राजु १८२६ मतसहित विजयी हुनुभएको छ । त्यस्तै महासचिवमा लोकतान्त्रिक प्यानलका कुशल खतिवडा २११९ मत ल्याएर विजयी हुनुभएको छ । उद्योग उपाध्यक्षमा विशाल थापा २१०३, वाणिज्य उपाध्यक्ष जीवनकुमार खड्का १९२१, जनसम्पर्क उपाध्यक्षमा गोमा भट्टराई १८६१, उद्योग सचिवमा पुकार बराल १९९५, वाणिज्य सचिवमा राजकुमार शाह १८५५, कोषाध्यक्षमा युवराज निरौला १८८६, सहकोषध्यक्षमा तिलोत्तमा खत्री १८२७ मतसहित विजयी हुनुभएको छ ।
त्यस्तै सदस्यहरूमा लोकतान्त्रिकका अनन्तलाल महतो १७६३, रमेश घिमिरे १८०१, दिनेश श्रेष्ठ १६७२, डिल्लीराम कोइराला १५६१, कृष्णप्रसाद बजगाईँ १६६८ , शत्रुघ्न गुप्ता १५३० र केदार खनाल १५४५ मतसहित विजयी हुनुभएको छ । त्यस्तै महिला सदस्यमा सुशीलाकुमारी कार्की १७५७, सुष्मा उप्रेती सुवेदी १६९५ मतसहित विजयी हुनुभएको छ । गत फागुन १४ गते भएको निर्वाचनमा ४ हजार ९५ मत खसेको थियो ।
वाणिज्य सङ्घको निर्वाचनमा दुई वटा प्यानल प्रतिस्पर्धामा उत्रिएका थिए । एकातिर नेपाली काँग्रेस र एकीकृत समाजवादीको लोकतान्त्रिक व्यावसायिक प्यानल थियो भने अर्कातिर नेकपा एमाले, राप्रपा, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी सम्मिलित पाँच दलको स्वतन्त्र व्यावसायिक प्यानल थियो ।