फडिन्द्र अधिकारी
लेखनाथ, फागुन १५ गते । विसं. २०७५ को फागुन १५ गतेले पोखरेलीलाई स्तब्ध बनायो । सो दिन तेह्रथुममा विमानस्थलको सम्भाव्यता अध्ययन गरी फर्कनेक्रममा हेलिकोप्टर दुर्घटनामा परी तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्युभयो ।
पोखरेलीले मङ्गलबार विभिन्न कार्यक्रम आयोजना गरी त्यो दुःखद दिन र अधिकारीलाई सम्झेका छन् । पाथिभाराको दर्शन गरेर फर्कनेक्रमममा ताप्लेजुङको फुङलिङ नगरपालिका –१० सिस्ने खोलामा अधिकारी चढेको हेलिकोप्टर दुर्घटना भएको थियो ।
छैठौं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा पोखरेलीले अधिकारीको योगदानको चर्चा गरेका छन् । मंगलबार बिहान पोखरा महानगरपालिका वडा १८ मा रहेको राष्ट्रिय विभूति तथा सहिद पार्कमा रहेको रवीन्द्र अधिकारीको शालिकमा माल्यार्पण गरियो ।
पोखरा महानगरका प्रमुख धनराज आचार्य, गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी, प्रतिनिधिसभा सदस्य दामोदर पौडेल ‘वैरागी’, गण्डकी प्रदेश सभा सदस्य देवका पहारीलगायत सहिदपार्क पुगेर रवीन्द्रका योगदानको चर्चा गर्नुभयो ।
गण्डकीका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले रवीन्द्रको अभाव पाइला–पाइलामा खड्किएको उल्लेख गर्नुभयो । “देशले बहुआयमिक नेतृत्वलाई गुमाएको छ । हामीलाई उहाँको अभाव हरेक पाइलामा खड्किरहेको छ” उहाँले भन्नुभयो ।
पोखरा महानगरका प्रमुख आचार्यले रवीन्द्रको आदर्शलाई पछ्याउँदै युवाहरु राजनीतिमा आउनुपर्ने विचार राख्नुभयो । रवीन्द्रका बालसखासमेत रहनुभएका उहाँले सहकार्यका अनेक क्षण स्मरण गर्नुभयो । कार्यक्रम रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानकी अध्यक्षसमेत रहनुभएकी रवीन्द्र पत्नी प्रतिनिधिसभा सदस्य विद्या भट्टराईको अध्यक्षतामा भएको थियो ।
प्रतिष्ठानले मंगलबार दिउँसोे जन्मथलो रवीन्द्रको जन्मस्थल पोखरा –३३, भरतपोखरीमा स्मृतिसभा गरेको छ । अहिले पोखरा –५, मालेपाटनमा रहेको रवीन्द्र वाटिकामा दीप प्रज्वलन गरिँदैछ ।
रवीन्द्र अधिकारीको जन्म विसं. २०२६ बैशाख २२ गते कास्कीको भरतपोखरी गाविसको जामुनाबोटमा भएको थियो । एमाले कास्की जिल्ला कमिटी सदस्य, सचिव, अध्यक्ष हुँदै अधिकारी २०६४ को संविधानसभा निर्वाचनमा कास्की क्षेत्र नम्बर ३ बाट निर्वाचित हुनुभएको थियो ।
२०७० को दोस्रो संविधनसभा निर्वाचनमा समेत सोही क्षेत्रबाट निर्वाचित उहाँ २०७४ को आमनिर्वाचनमा कास्की –२ बाट निर्वाचित भएपछि मन्त्री बन्नुभएको थियो ।