• ९ पुस २०८१, मङ्गलबार

रोकिएका विधेयक चाँडो टुङ्ग्याउन निर्देशन

blog

राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समिति । फाइल तस्बिर

काठमाडौँ, फागुन १५ गते । राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले सुशासनसम्बन्धी कानुनको तत्काल पुनरावलोकन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले ‘सुशासनका लागि विधिको शासन र संसद्को भूमिका’ विषयमा भएको छलफलमा सुशासनसँग सम्बन्धित सङ्घीय संसदमा रोकिएर रहेका विधेयक चाँडो टुङ्ग्याउन निर्देशन दिने निर्णय गरेको समितिका सभापति प्रकाश पन्थले बताउनुभयो ।

“सुशासनको लागि विधिको शासन आवश्यक छ भन्ने आजको बैठकले निष्कर्ष निकालेको छ”, उहाँले भन्नुभयो, “सुशासनसँग सम्बन्धित ऐन-कानुन अध्ययन गर्ने र पुनरावलोकनका लागि सरकारलाई सुझावसहित निर्णय पठाउनेछौँ ।” बैठकमा राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले सुशासन प्रवर्द्धनका लागि नीतिगत र संरचनागत सुधार जरुरी भएको उल्लेख गर्नुभयो । उहाँले मिटरब्याज (अनुचित लेनदेन)सम्बन्धी कानुन बनाएर पीडितलाई चाँडो न्याय दिनुपर्नेमा जोड दिनुभयो । 

सांसद वामदेव गौतमले सदनभित्र बोल्ने र जवाफ दिनेबिच होहल्ला हुने गरेको भन्दै सुशासन प्रवर्द्धनका लागि सर्वप्रथम सदनभित्रै सुशासन कायम हुन जरुरी भएको बताउनुभयो । सांसद भुवनबहादुर सुनार, शारदादेवी भट्टलगायत सांसदले सुशासन प्रवर्द्धनका लागि बनाउनुपर्ने कानुन शीघ्र टुङ्गो लगाउनुपर्ने बताउनुभयो । रासस