• २२ असार २०८१, शनिबार

सप्तरीमा दुग्ध उत्पादक सहकारी संघ आन्दोलनमा

blog

धर्नामा बसेका आन्दोलनकारी । तस्बिर : देवरामप्रसाद यादव

देवरामप्रसाद यादव

सप्तरी, फागुन १५ गते । दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेड, महुली सप्तरी दुग्ध उत्पादक कृषकहरूको समस्या समाधानको लागि आन्दोलनमा उत्रेका छन् । निर्धारित कार्यक्रम अनुसार दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेड, महुली सप्तरीले मंगलबार प्रमुख जिल्ला अधिकारी किरण थापालाई किसानहरूले विभिन्न ११ सूत्रीय माग राखी प्रजिअ थापालाई ज्ञापनपत्र बुझाएका हुन् । 

आन्दोलनकारीले चर्को नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना समेत दिएका थिए । आन्दोलनकारीले ज्ञापन पत्रमार्फत दुधको भुक्तानी रोक्ने, नेपाल सरकारले तोकेको मूल्यभन्दा कम आफूखुसी मूल्य तोक्ने, नियमित रूपमा दुध खरिद नगर्ने जस्ता समस्या समाधान गरिदिन माग गरिएको छ ।

जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले विभिन्न सरोकारवाला निकायसँग छलफल गरी यो समस्याको समाधान गर्न जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लि. सप्तरी समेतको सहभागितामा केन्द्रीय दुग्ध सहकारी सङ्घ लि. नेपालले दुग्ध उत्पादक कृषकहरूले दुध बिक्री बापत पाउनुपर्ने रकम भुक्तानी लगायतका विषयमा नेपाल सरकारसँग गत मङ्सिर २६ गते सम्झौता भएकोमा उक्त सहमति कार्यान्वयन नभएको हुँदा यस दुग्ध उत्पादक सहकारी सङ्घ लि. सप्तरीले नेपाल सरकारको ध्यानाकर्षण गराई तुरुन्त उक्त सम्झौता कार्यान्वयनको लागि ज्ञापन पत्रमा माग गरेको छ । 

सङ्घले विगत ८ महिनाअघि देखि सरकारी स्वामित्वको विराटनगर दुग्ध वितरण आयोजना लगायत अन्य निजी डेरी उद्योगीहरूले बक्यौता राखेको ८ करोडभन्दा बढीको भुक्तानी यथाशीघ्र दुग्ध किसानहरूलाई गराइदिनुको साथै आफू खुसी राखिएको मूल्य खारेज गरी नेपाल सरकारले तोकेको मूल्य कायम गर्न माग गरेका छन् ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आ.व. श्रावणदेखि पौष मसान्तसम्म एक अर्ब त्रिचालिस करोड उनानब्बे लाख तेइस हजारको दुग्ध जन्य पदार्थ आयात गरी दुग्ध जन्य पदार्थलाई अन्तर्राष्ट्रिय बजारमा अविलम्ब बिक्री गर्ने व्यवस्था गर्न सङ्घले माग ज्ञापन पत्रमा माग गरेका छन् ।

त्यस्तै, सहुलियत कृषि कर्जामा एवम् रोकिएको ब्याज कृषि अनुदान कार्यक्रम उपलब्ध गर्न, विगतमा दिइँदै आएको दुध लिटर अनुदान कम्तीमा रु. १० सबै पालिकामा सबै किसानले पाउने गरी लागू गर्न, पशु आहारा, पशु औषधी लगायत पशुपालनसँग सम्बन्धित वस्तुका मूल्य सरकारबाट अविलम्ब नियन्त्रण गर्न, बिमा कार्यक्रमलाई प्राथमिकतामा राखी बिमाको दाबी भुक्तानी सहज बनाउन ज्ञापन पत्रमा उल्लेख गरेका छन् ।

निर्यातित दुग्ध जन्य पदार्थहरूमा अनुदानको व्यवस्था अविलम्ब गर्न, दुध तथा दुग्ध पदार्थ निर्यातको लागि खोरेत लगायतका रोग मुक्त घोषणा गर्न, सीमा क्षेत्रबाट अवैध रूपमा भित्री रहेको दुध तथा दुग्ध जन्य पदार्थको तस्करी बन्द गर्न, गुणस्तरीय दुध उपभोक्ता समक्ष पुर्‍याउनका लागि आवश्यक प्रबन्ध गर्न, पशु आहार पराल भूस आदिको ढुवानीमा ट्राफिक प्रहरीले दिने अनावश्यक दुःख अन्त्य गर्न ज्ञापनपत्रमार्फत् माग गरेका छन् ।

सप्तरीका प्रजिअ थापाले स्थानीय स्तरबाट समस्याको समाधान गर्ने र माथिबाट हुने कामको लागि पहल गर्ने बताउनुभयो । आन्दोलनकारीले बिहीबार १२ बजेदेखि १ बजेसम्म शान्तिपूर्ण तरिकाले पूर्व पश्चिम राजमार्गको महुली खण्डमा दुध पोखेर १ घण्टा चक्का जाम गर्ने आन्दोलनको कार्यक्रम रहेको सञ्चारकर्मीलाई जानकारी दिएका छन् । 

सङ्घका सप्तरी अध्यक्ष दीपेन्द्र कुमार आचार्यले माग पुरा नभएसम्म केन्द्रीय दुग्ध सहकारी सङ्घ लि. नेपालले आव्हान गरेका अन्य सबै आन्दोलनमा सहभागी हुने बताउँदै  फागुन २१ देखि माइतीघर मण्डलामा हुने धर्ना तथा विरोध प्रदर्शन जारी राख्ने जानकारी दिनुभयो ।