ठाकुरप्रसाद आचार्य
म्याग्दी, फागुन १५ गते । ४२ औं मगर दिवसका अवसरमा बेनीमा जातीय पहिचान झल्किने भेषभूषासहित सांस्कृतिक झाँकी प्रदर्शन गरिएको छ ।
मौलिक पोसाकमा सजिएका मगर समुदायका युवायुवतीले लोपोन्मुख अवस्थामा रहेको सोरठी भाकामा गीत गाउँदै मादले–मारुनी नाच प्रदर्शन गर्दै बजार परिक्रमा गरेका छन् । सांस्कृतिक रैलीमा मगर समुदायका युवायुवती र पाका पुस्ताको सहभागिता थियो ।
दिवसका अवसरमा भेषभूषासहितको रैली प्रदर्शनी तथा सोरठी, कौडा र सालैजो नाच प्रदर्शन गरिएको नेपाल मगर सङ्घ म्याग्दीका अध्यक्ष लोकेश पुनमगरले बताउनुभयो । सांस्कृतिक झाँकीले मौलिक कला संस्कृतिको संरक्षण र युवापुस्तामा संस्कृतिक हस्तान्तरणमा टेवा पुग्ने उहाँले बताउनुभयो ।
मगर समुदायको संस्कृति झल्कने पहिरनसहित बेनीको विरेन्द्रचोकबाट निस्केको रैली बजार परिक्रमापछि जिल्ला समन्वय समितिको सभाहलमा पुगेर कार्यक्रममा परिणत भएको थियो । प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले कार्यक्रमको उद्घाटन गर्नुभयो ।
मगर दिवसको अवसरमा नेपाल मगर सङ्घ म्याग्दीले संस्थापक अध्यक्ष हेमबहादुर पुनमगर स्मृति अन्तरमावि सालैजो शिरफुले लोकनृत्य प्रतियोगिताको आयोजना गरेको मगर सङ्घका जिल्ला सदस्य समिर रोकाले जानकारी दिनुभयो । फागुन १५ लाई मगर समुदायले स्थापना दिवसका रुपमा विभिन्न कार्यक्रम गरेर मनाउने प्रचलन छ ।