• १३ मंसिर २०८१, बिहिबार

मुद्दा दर्ता भएपछि माओवादी नेता पुरीद्वारा राजिनामा

blog

नेकपा (माओवादी केन्द्र)का नेता पुरी ।

विष्णुप्रसाद पोखरेल

दमक, फागुन १५ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूसहितलाई विपक्षी बनाएर मुद्दा दर्ता गरेपछि नेकपा (माओवादी केन्द्र) कोशीका कोषाध्यक्ष गगन पुरीले पदबाट राजिनामा दिनुभएको छ । 

उहाँले यस विषयमा निष्पक्ष छानबिनका लागि आफू बाधक नबन्ने र पार्टीलाई समेत समिति बनाएर छानबिन गर्न आग्रह गर्दै राजिनामा दिनुभएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमक नगरपालिका –८ मा पर्ने बालुवाटार क्षेत्रको सरकारी स्वामित्वको जग्गा व्यक्तिको नाममा दर्ता गरी अख्तियारको दुरुपयोग गरेको अभियोगमा पुरीका साथै तत्कालीन अवस्थाका नापीका कर्मचारीसहित १ सय ७२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । यो विषयलाई दमकको बालुवाटार काण्डका रुपमा पूर्वमा लिइन्छ ।

पुरीले कोशी प्रदेश अध्यक्षलाई सम्बोधन गरेर र पार्टी केन्द्रीय अध्यक्षलाई बोधार्थ लेखी राजिनामा दिनुभयो । निष्पक्ष रुपमा हुने छानबिनलाई म सहयोग गर्छु, पुरीले भन्नुभयो । छानबिनमा सहयोग पुगोस् भनेर नै आफूले राजिनामा दिएको पनि पुरीले बताउनुभयो । 

विगतमा पनि बारम्बार रुपमा यो विषय उचालिने गरेको जनाउँदै पुरीले आफूले पुर्ख्याैली र कानुनी हक लाग्ने बाहेक सरकारी सम्पत्ति आफ्नो नाममा नल्याएको दाबी गर्दै आउनुभएको छ । ममाथि निष्पक्ष रुपमा छानबिन होस् भनेर मैले सधैं र अहिले पनि भन्दै आएको छु, पुरीले भन्नुभयो ।

सार्वजनिक जग्गाका रुपमा दर्ता गर्नुपर्ने ३ सय ९७ रोपनी ८ आना एक पैसा तीन दाम जग्गा गैरकानुनी रुपमा पुरीलगायत पुरीका परिवारसहित बिभिन्न व्यक्तिका नाममा दर्ता गरेको अभियोग लागेको छ । यो जग्गा व्यक्तिविशेषका नाममा राखी न्यूनतम मूल्याङ्कन ३४ करोड ६६ लाख ५४ हजार ८ सय ४९ कायम हुन आउने देखिएको भन्दै आयोगले मुद्दा दर्ता गरेको हो ।

यसभन्दा अघि माघ अन्तिम साता सम्पत्ति शुद्धीकरण मुद्दामा पुरीलाई विशेष अदालतले दोषी ठहर गरेको थियो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले पुरीलाई दोषी ठहर गरेको हो । पुरीसहित श्रीमती सीमाको नाममा ४ करोड ३ लाख ३४ हजार ८ सय ९४ रुपियाँ अवैध सम्पत्ति भेटिएकाले दुवै जना सम्पत्ति शुद्धीकरण ऐनअनुसार दोषी ठहर गरेको विशेष अदालतले जनाएको थियो ।