अर्जुन काफ्ले/राधाकृष्ण डुम्रे
स्याङ्जा, फागुन १५ गते । ४२ औँ मगर दिवसको सन्दर्भमा स्याङ्जाका आठ पालिकाले सार्वजनिक बिदा दिएका छन् । ११ पालिका रहेको स्याङ्जामा पाँच नगरपालिका र तीन गाउँपालिकाले दिवसमा बिदा दिएका हुन् ।
यहाँका पुतली बजार, भीरकोट, वालिङ, गल्याङ, चापाकोट नगरपालिका, कालिगण्डकी, बिरुवा, हरिनास गाउँपालिकाले बिदा दिएका हुन् । यहाँका पालिकाले विज्ञप्ति जारी गर्दै मगर दिवसको अवसरमा आज सार्वजनिक बिदा दिइएको उल्लेख गरिएको छ ।
पालिकाभित्रका अन्तर्गतका कार्यालय, वडा कार्यालय, सार्वजनिक निकाय, सङ्घसंस्था, शिक्षण संस्था,बैङ्क तथा वित्तीय संस्थाहरू बन्द रहनेछन् । पालिकाले मगर समुदायको सम्मानका लागि बिदा दिइएको विज्ञप्तिमा जनाएको छ । बिदा दिइएका पालिकामा मगर समुदायको बाक्लो बसोबास रहेकाले बिदा दिइएको जनाइएको छ ।
मगर बस्ती नरहेका यहाँका अर्जुनचौपारी, आँधीखोला र फेदिखोलाले भने बिदा नदिएका हुन् ।