• १२ साउन २०८१, शनिबार

प्रतिबद्धताअनुसार कर्णालीमा विकासको काम भइरहेको छ : उपप्रधानमन्त्री खड्का

blog

सुनथराली विमानस्थल उद्घाटन गर्नुहुँदै उपप्रधानमन्त्री पूर्णबहादुर खड्का । तस्बिर : उपप्रधानमन्त्री खड्काको सचिवालय

गोरखापत्र अनलाइन

कालीकोट, फागुन १४ गते । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले  निर्वाचनका बेला कर्णालीमा भएका चुनावी सभाहरूमा व्यक्त गरेका प्रतिबद्धताहरू पूरा हुँदैगएको बताउनुभएको छ ।

उहाँले निर्वाचनका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफूले कालिकोटमा सम्बोधन गर्नेक्रममा बोलेको कुरामध्ये एउटा काम पूरा भएको बताउनुभयो । 

सोमबार कालिकोटको सुनथराली विमानस्थल उद्घाटन कार्यक्रममा खड्काले प्रतिबद्धताअनुसार नेपाल एयरलाइन्सको जहाजले सातामा एक दिन सुनथराली विमानस्थलमा उडान भर्ने बताउनुभयो । कालिकोटका नागरिकलाई यातायातमा सहज हुनेगरी तीनै तहका सरकारले समन्वय गर्ने पनि उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले बताउनुभयो । 

उहाँले वर्तमान प्रधानमन्त्री र आफूले निर्वाचनका बेला कर्णालीमा गरेका प्रतिबद्धता क्रमशः पूरा गर्न आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो । उपप्रधानमन्त्री खड्काले हरेक बजेटमा कर्णालीलाई प्राथमिकता दिएको भन्दै यहाँको समस्याबारे आफू जानकार रहेको बताउनुभयो । शिक्षा, स्वास्थ्य र पूर्वाधारको विकासमा सबै दलहरू एकजुट हुनु पर्नेमा उहाँको जोड छ ।

‘कर्णालीको विकासमा राजनीति गर्न हुँदैन । सबै मिलेर कर्णालीको विकासमा हातेमालो गरौँ । कर्णाली राजमार्ग, भेरी कोरिडोर, मुगुका प्रमुख सडकहरू निर्माण गर्नेदेखि विद्युत् उत्पादनका क्षेत्रका कामहरूमा पनि सबैले हातेमालो भएर लाग्नुपर्छ’ उहाँले भन्नुभयो । 

उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले कालिकोटको शिक्षा, स्वास्थ्य, पूर्वाधार  र यातायाततर्फको विकासमा सबै दल एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘कालिकोटको विकासका लागि केन्द्र सरकारको तर्फबाट पहल गरिरहेको छु, कालिकोटका पर्यटकीय क्षेत्रको विकासका लागि र कर्णाली प्रदेशको विकासका लागि नेपाल सरकारले एक किसिमको खाका तयार गरेको छ ।’


मुलुकमा विमानस्थल कम भए पनि जहाजको सेवा कालिकोटका गरिब जनता, सुत्केरी महिला र बृद्धबृद्धाहरूका लागि सहयोगी हुने बताउनुभयो । उहाँले जहाजमार्फत कालिकोटको पर्यटन, कृषि र अन्य विकासमा सरकारले सहयोग गरिरहेको चर्चा गर्नुभयो । उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले १०–१५ वर्षमा कर्णालीलाई समृद्ध प्रदेश बनाउन सकिने बताउँदै त्यसका लागि सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा  पर्यटनमन्त्री सुदन किराती, मुख्यमन्त्री राजकुमार शर्मा, पूर्व मुख्यमन्त्री तथा सांसद महेन्द्रबहादुर शाही र पूर्व मुख्यमन्त्री तथा कर्णाली प्रदेश सभा सदस्य जीवनबहादुर शाहीलगायतको उपस्थिति थियो ।