• १३ असोज २०८१, आइतबार

गोरखकाली रनिङकपको उपाधि हरमटारीले लियो

blog

गुणबहादुर रोका 

सुलीकोट, फागुन १३ । मिस्टर बि आठौँ गोरखकाली रनिङकप प्रतियोगिताको उपाधि आयोजक हरमटारी युवा क्लबले जितेको छ । गोरखा नगरपालिका – ६ हरमटारी खेलकुद मैदानमा शनिवार सम्पन्न फाइनल खेलमा चाइनिज धारा फेमली क्लबलाई ० को विरुद्ध २ गोलले पराजित गर्दै आयोजक हरमटारी क्लबले उपाधि जितेको हो । 

हरमटारी क्लबका फागुराम थारुले पहिलो हाफको ११ औ मिनेटमा गरेको गोलबाट खेलमा अग्रता कायम गरेको हरमटारी क्लबले पुन दोस्रो हाफमा राम थापाको गोलबाट अग्रता लिएको थियो । निर्धारित समयमा चाइनिज धारा फेमली फुटबल खेलमा फर्कन नसकेपछि हरमटारी क्लब २ – ० गोल अन्तरले उपाधि जित्न सफल भएको हो । 

प्रतियोगिताको उपाधि विजेता हरमटारी क्लबले ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने दोस्रो स्थानमा चित्त बुझाउन बाध्य चाइनिज धारा फेमली क्लबले १ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ । 

यही फागुन ६ गतेदेखि सुरु भएको प्रतियोगिताको सेमी फाइनलमा भीमसेन तारा क्लबलाई २ – ० गोलले पराजित गर्दै हरमटारी युवा क्लब फाइनलमा पुगेको थियो भने दौँतरी युवा क्लब चित्रेपोखरीलाई १ का विरुद्ध ३ गोलले पराजित गर्दै चाईनिजधारा फेमली फाइनलको यात्रा तय गरेको थियो । 

हरमटारी युवा क्लबका नरेन्द्र चौधारीले उत्कृष्ट खेलाडी घोषित हुनु भएको छ । उहाँले रु नगद ३० हजार रुपैयाँ प्राप्त गर्नु भएको छ । त्यस्तै हरमटारी युवा क्लबका आकाश रानाभाट उत्कृष्ट गोलरक्षक हुन भएको छ भने चाईनिजधारा फेमलीका बिक्की चाम्लिङ उच्च गोलकर्ता बनेका हुन् । 

उनीहरूले जनही १० – १० हजार प्राप्त गरेका छन् । खेल फागुन ६ गतेबाट सुरु भएर शनिवार सम्पन्न भएको हरमटारी क्लबका महासचिव किरण ढकालले जानकारी दिनु भयो ।