• १३ मंसिर २०८१, बिहिबार

दोभान–सन्थाक्रा सडक कालोपत्रे हुँदै

blog

कालोपत्रे गर्न लागिएको दोभान सान्थाक्रा सडक । तस्बिर: चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, फागुन १३ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाको प्रशासकीय केन्द्र सान्थाक्रा जोड्ने सडक कालोपत्रे हुने भएको छ । सोही गाउँपालिका–३ खाम्लुङको दोभान बजारदेखि सान्थाक्रासम्म नौ किलोमिटर सडक कालोपत्रे हुने भएको हो ।

मेरिङ्देन गाउँपालिकाको पहल तथा समन्वयमा उक्त सडक कालोपत्रे (स्तर वृद्धि) गर्न लागिएको हो । सडक कालोपत्रे योजनाका लागि निर्माण कम्पनीसँग ठेक्का सम्झौता भइसकेको गाउँपालिका अध्यक्ष युकहाङबीर हाङ्गाम (डम्बर) ले जानकारी दिनुभयो । उहाँका अनुसार पहाडी÷पोमु÷कञ्चनजङ्घा जेभी निर्माण कम्पनीसँग योजनाको सम्झौता भएको छ । 

चालू आर्थिक वर्षभित्रै बजेट कार्यान्वयन गर्ने गरी गाउँपालिका र निर्माण कम्पनीबिच तीन करोड ३७ लाख रुपियाँको ठेक्का सम्झौता भएको पालिका अध्यक्ष हाङ्गामले जानकारी दिनुभयो । उहाँका अनुसार चालू आवको बजेटले सडक नाली र ग्राभेल लगायतको काम गरिने छ । आगामी आर्थिक वर्षभित्र सडक कालोपत्रे गरिसक्ने गाउँपालिकाको योजना रहेको पनि उहाँले बताउनुभएको छ ।

दोभान–सान्थाक्रा सडक गाउँपालिकाको गौरवको योजना भएकाले सोहीअनुसार पालिकाले बजेट विनियोजन गरेको अध्यक्ष हाङ्गामले बताउनुभयो । गाउँपालिकाको बजेट पर्याप्त नहुने हुँदा प्रदेश तथा सङ्घीय सरकारसँग पनि आवश्यक बजेटका लागि निरन्तर पहल र समन्वय गरिरहेको उहाँले बताउनुभयो । 

स्थानीय तहको समपूरक बजेटसँग साझेदारी गरेर योजना कार्यान्वयन गर्न मिल्ने व्यवस्था भएअनुसार प्रदेश तथा सङ्घीय सरकारसँग बजेटका लागि समन्वय भइरहेको उहाँको भनाइ छ । गाउँपालिकाको तर्फबाट समपूरक बजेटले कालोपत्रेको काम गर्ने गरी सङ्घीय सरकारसमक्ष प्रस्ताव पठाई सकिएको पनि उहाँले जानकारी दिनुभयो । 

मेरिङ्देन गाउँपालिका, मैवाखोला र आठराई त्रिवेणी गाउँपालिकाको संगमस्थलका रूपमा रहेको दोभान बजारदेखि सान्थाक्रासम्म सडक कालोपत्रे भएमा सो क्षेत्रका बासिन्दालाई सुविधा हुने छ । त्यस्तै मिक्वाखोला गाउँपालिकाको प्रशासकीय केन्द्र साँवा थलङ लगायतका वडाहरूमा जानलाई पनि सोही सडक प्रयोग गरिन्छ ।  

सदरमुकाम फुङ्लिङ बजारपछि दोभान जिल्लाकै दोस्रो ठुलो बजार अर्थात् व्यापारिक केन्द्र भएकाले सडक कालोपत्रे हुँदा बहुसङ्ख्यक स्थानीयवासीलाई सहज हुने निश्चित रहेको गाउँपालिका अध्यक्ष हाङ्गामको बुझाइ छ । उहाँकाअनुसार जिल्लाकै एक प्रमुख पर्यटकीय गन्तव्य फुङ फुङ्गे झरना र तोक्पेगोला क्षेत्रको भ्रमणमा आउजाउ गर्ने पर्यटकलाई समेत यो सडकले सुविधा पुग्ने छ ।