अविनाश चौधरी
धनगढी, फागुन १३ गते । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १२ वर्षको अवधिमा लोपोन्मुख अवस्थामा रहेको कृष्णसारको सङ्ख्या छ गुणाले वृद्धि भएको छ । दुर्लभ कृष्णसारको सङ्ख्या ४२ वटाबाट वृद्धि भई अहिले २७७ वटा पुगेको छ ।
सन् १९६० को दशकमा शुक्लाफाँटाको हीरापुर क्षेत्रमा कृष्णसार देखा परेको थियो । सोही आधारमा कृष्णसारका लागि उपयोगी हावापानी हुन सक्ने ठानेर विभिन्न ठाउँबाट स्थानान्तरण गरेर ल्याइएको थियो । सन् २०१२ मा हरियो वन कार्यक्रमको साझेदारीमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले सदर चिडियाखानाबाट छ र नेपालगन्ज मिनी चिडियाखानाबाट २२ गरी पहिलो पटक २८ वटा कृष्णसार शुक्लाफाँटा पु¥याएको थियो । त्यसपछि सन् २०१५ मा बर्दियाको खैरापुरबाट थप १४ वटा कृष्णसार शुक्लाफाँटामा स्थानान्तरण गरिएको थियो ।
निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत मनोज ऐरका अनुसार स्थानान्तरण गरिएको छोटो समयमा शुक्लाफाँटामा कृष्णसारको राम्रो वृद्धि भएको छ । सन् १९७० को दशकमा नेपालबाट कृष्णसार लोप हुन लागेको भनिएको थियो । सन् १९७५ मा बर्दियाको खैरापुरमा कृष्णसार देखिएपछि कृष्णसार संरक्षण गर्ने र स्थानान्तरण गरेर सङ्ख्या बढाउने कार्यको थालनी भएको थियो । सन् १९७७ देखि १९८९ सम्म बर्दिया राष्ट्रिय निकुञ्जको बघौराफाँटामा १६ वटा, सन् १९८५ देखि १९८८ सम्म थप चार र सन् १९९२ मा २६ वटा कृष्णसार स्थानान्तरण गरिएको थियो तर त्यहाँ कृष्णसार बाँच्न सकेनन् । सन् २००९ मा बर्दियाको गुलरिया नगरपालिकास्थित १६.९६ हेक्टरलाई कृष्णसार संरक्षण क्षेत्र घोषणा गरेर संरक्षणको कार्य अघि बढाइएको थियो ।
बर्दियाको कृष्णसार संरक्षण क्षेत्रभन्दा शुक्लाफाँटामा कृष्णसारको सङ्ख्या बढी रहेको छ । बर्दियाको कृष्णसार संरक्षण क्षेत्रमा कृष्णसारको सङ्ख्या १८७ पुगेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हीरापुर फाँटमा ५८.८ हेक्टर क्षेत्रफल तारबार गरी कृष्णसारको बासस्थान विस्तार गरिएको छ । सुरुवातमा ७.५ हेक्टर क्षेत्रमा कृष्णसारको बासस्थान बनाइएको थियो । सङ्ख्या बढे अनुसार बासस्थान बढाइएको छ । कृष्णसार जलवायु परिवर्तनको असरको चपेटामा परेको बताइएको छ । यद्यपि अन्य दुर्लभ वन्यजन्तुको तुलनामा कृष्णसार संरक्षणमा सरोकारवालाको ध्यान नपुगेको बताइन्छ ।
नेपालमा कृष्णसारलाई वंशाणुगत रूपमै स्वस्थ राख्ने, निरन्तर सङ्ख्या बढाउने र पुनः प्राकृतिक पुनस्र्थापना गर्ने रणनीति लिइएको छ ।
यसका लागि स्थानान्तरण गरी अन्य क्षेत्रमा पनि कृष्णसारको सङ्ख्या बढाउने, यसको बासस्थानमा जलवायु परिवर्तनको जोखिम न्यूनीकरण गर्ने, सुरक्षाका लागि नवीनतम् प्रविधिको प्रयोग गर्ने योजना बनाइएको जनाइएको छ ।