गाजापट्टी, फागुन ९ गते । इजरायली आक्रमणका कारण गाजामा प्यालेस्टिनीको मृत्यु हुनेको सङ्ख्या २९ हजार १९५ पुगेको छ । गाजास्थित स्वास्थ्य मन्त्रालयले मङ्गलबार साँझ इजरायली आक्रमण जारी रहँदा गाजापट्टीमा मृत्यु हुनेको सङ्ख्या २९ हजार १९५ पुगेको बताएको हो ।
त्यस्तै ६९ हजार १७० अन्य घाइते भएको बताएको छ । विगत २४ घण्टामा इजरायली सेनाले स्ट्रिपमा १०३ प्यालेस्टाइनीको हत्या गरेको र १४२ जना घाइते भएको मन्त्रालयले जनाएको छ ।
भारी बमबारी र सिभिल डिफेन्स र एम्बुलेन्स टोलीको अभावमा केही पीडितहरू भग्नावशेषमुनि रहेको उल्लेख गरिएको छ । इजरायली सेनाले हमासविरुद्ध गाजापट्टीको उत्तर, केन्द्र र दक्षिणमा आफ्नो कारबाही जारी राखेको र धेरै लडाकुहरूलाई मारेको बताइएको छ ।
इजरायली सेनाले गाजा लडाईंमा घाइते भएका २२ वर्षीय सैनिकको मृत्यु भएको घोषणा गरेको छ । जसका कारण भूमिगत अपरेशनमा मारिएका इजरायली सैनिकको मृत्यु हुनेको सङ्ख्या २३६ पुगेको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल