बेलबारी (मोरङ), फागुन ८ गते । पछिल्लो समय मोरङको सीमावर्ती बजार जोगबनी र आसपासका नाकाबाट अवैधरुपमा हुन्डीको कारोबार बढ्दै गएकाले प्रहरीले त्यस्ता कारोबारीलाई नियन्त्रणमा लिन थालेको छ ।
पक्राउ परेकामध्ये १८ वर्षमुनिका भएको उनीहरू र व्यावसायिक हुन्डी कारोबारीका भरिया मात्र भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । गत कात्तिक १४ गते स्रोत नखुलेको २१ लाख ८७ हजार रूपियाँ सीमापारिबाट ल्याउँदै गरेको अवस्थामा १६ वर्षीय भारतीय मूलका एक किशोरलाई प्रहरीले सीमानाका नजिकैबाट नियन्त्रणमा लिएको थियो । पक्राउ परेका उनलाई व्यावसायिक हुन्डी कारोबारीले प्रयोग गरेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रञ्जन दाहालले जानकारी दिनुभयो ।
हुन्डीका कारोबारी विवेक गुप्ता र मनोज साहले ती बालकलाई प्रयोग गरेर सीमापारिको कालोधन हुन्डीमार्फत भित्र्याउने प्रयास गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । गुप्ता र साह हाल फरार भएका छन् । सोही कारोबारमा विराटनगरका केही नाम चलेका उद्योगी-व्यवसायीको पनि संलग्नता रहेको र तिनै उद्योगी र व्यवसायीले भरियामार्फत हुन्डीको रकम ल्याउने र पुर्याउने गर्दै गरेको प्रहरीको आशङ्का छ ।
जिल्ला प्रहरीले स्रोत नखुलेको १९ लाख ९० हजारसहित सुनसरीका देवानगन्ज-५ का ४९ वर्षीय सुरेन्द्रप्रसाद साहलाई गत पुस ११ गते जोगबनी नाका नजिकको केशलिया मार्गबाट नियन्त्रणमा लिएको थियो । नियन्त्रणपछि अनुसन्धान गर्दा साह जय माता ट्रेडर्स देवानगन्ज सुनसरीमा धान चामलको व्यापार गर्ने व्यापारी व्यावसायिक हुन्डी कारोबारी भएको पुष्टि भएको प्रवक्ता दाहालले बताउनुभयो ।
केही समयअघि विराटनगर-१५ का धर्मानन्द साहलाई स्रोत नखुलेको चार लाख ७५ हजार र सोही ठाउँका रन्जीत साहलाई पनि स्रोत नखुलेको नौ लाख २० हजार रूपियाँसहित पक्राउ गरिएकामा दुवैजना हुन्डी कारोबारीका भरिया भएको पुष्टि भयो । अवैध हुन्डीको कारोबार गर्ने सुनसरी बर्जु-३ का २४ वर्षीय उमाकान्त राय पनि गत असोजमा स्रोत नखुलेको रू. १० लाखसहित पक्राउ परेका थिए । पक्राउ परेकाहरुलाई राजस्व अनुसन्धान कार्यालयमा बुझाउने गरिएको प्रवक्ता दाहालले बताउनुभयो । रासस