राजकुमार भट्टराई
खोटाङ, फागुन ८ गते । दुई सय वर्ष पुराना घरेलु सामग्री सङ्कलन गरेर खोटाङमा सांस्कृतिक सङ्ग्रहालय स्थापना गरिएको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा करिब दुई सय वर्ष पुराना र त्यस यताका गरी दुई सय बढी प्रकारका घरेलु सामग्री राखेर सांस्कृतिक सङ्ग्रहालय स्थापना गरिएको हो ।
तत्कालीन जालपा गाविसको भवनको सभा हललाई सांस्कृतिक सङ्ग्रहालय बनाइएको वडाध्यक्ष दानबहादुर राईले बताउनुभयो । पुर्खाहरुले आफ्नो जीवनकालमा प्रयोग गरेका ऐतिहासिक सामग्रीलाई सङ्कलन र संरक्षण गर्दै नयाँ पुस्तालाई जानकारी दिने लक्ष्यका साथ संग्रहालय स्थापना गरिएको वडाध्यक्ष राईको भनाइ छ ।
हाल सङ्ग्रहालयमा छालाको थैली, काठको दुध चलाउने डाडु, बेतको भुने, आरनमा आगो फुक्न प्रयोग हुने भाँटी, जाँतो, काठको दियो (बत्ती), काठको माना, भाला, धनुषबाण, तरवार, काठको मुखुण्डो, कोक्रो, ढाकर, जाल, ठकौली, ढडिया, दुधेरी, चर्खा, हतासो, रासी, थुरी काठको पन्यु, काठको चम्चा, काठे गिलास, हर्पे, ठेका, दाबिलो, डोको, नाङ्लो, ओख्ली, लोहोरो, हलो, फुर्लुङ, मुढा, कोक्रो, डोको, थुन्चे, तोलङ, ओख्ली, नाङ्लो, दाप, फिपी, घुर्रा, मदानी, ठेका, जुवा, हल्लुँड, सोइला, फिर्के, खरेटो, चिम्टा, हँसिया, कचिया, सिलौटाे, लोहोरो, कर्दलगायतका घरायसी सामग्री राखिएका छन्।
लोपोन्मुख उक्त सामग्रीहरु ध्वाँसो लागेको अवस्थाका गाउँ गाउँबाट सङ्कलन गरेर सङ्ग्रहालयमा राखिएको वडाध्यक्ष राईले बताउनुभयो । बिस्तारै अन्य सामग्री पनि थप गर्दै लगिने वडाध्यक्ष राईको भनाइ छ । बाजे पुर्खाको पालामा प्रयोग भएका पुराना–पुराना घरेलु सामग्री सङ्ग्रहालयमा अवलोकन गर्न सकिन्छ । हरेक सामग्रीमा सौजन्य र प्रयोग गर्नेको नाम लेखेर टाँसिएको छ । पुरानो सामग्री प्रयोगकर्तामा मृत्यु भइसकेका व्यक्तिका नामसमेत उल्लेख छन् ।
सङ्ग्रहालयका लागि स्थानीयले ऐतिहासिक सामग्री निःशुल्क उपलब्ध गराएको वडाध्यक्ष राईले बताउनुभयो । ऐतिहासिक सामग्रीहरु सबैले निःशुल्क उपलब्ध गराएका छन् । "हाम्रा पुर्खाहरुले आफ्नो जीवनकालमा प्रयोग गरेका ऐतिहासिक सामग्रीलाई सङ्कलन र संरक्षण गर्दै नयाँ पुस्तालाई जानकारी दिने लक्ष्यका साथ हामीले सङ्ग्रहालय स्थापना गरेका हौं", वडाध्यक्ष राईले भन्नुभयो, "यी सामग्रीहरु हाम्रो इतिहास हो, इतिहास अध्ययन गर्ने प्रमाण पनि हो । सङ्ग्रहालयमार्फत गाउँलाई अध्ययन, भ्रमण र अवलोकनका लागि योग्य स्थल बनाउने र पर्यटन प्रवर्धनमा टेवा पुग्ने अपेक्षा गरेका छौं । काठमाडौंकाे एउटा विद्यालयले शैक्षिक भ्रमणमा आउँछौं भनिसकेको छ ।"