अनिल पराजुली
हेटौँडा, फागुन ७ गते । प्रजातन्त्र दिवसको अवसर पारेर बागमती प्रदेशको राजधानी हेटौँडास्थित सहिद स्मारकमा जिल्लाकै अग्लो झण्डा फहराइएको छ । स्मारक विकास समितिले प्रजातन्त्र दिवको अवसर पारेर ६५ फिट अग्लो डण्डीमा २२ फिट लामो साइजको राष्ट्रिय झण्डा फहराएको हो । राष्ट्रिय कलाकार हरिवंश आचार्यले स्मारक परिसरमा झण्डाको उद्घाटन गर्नुभयो ।
उहाँले मुख्य पर्यटकीयस्थल सहिद स्मारकमा प्रजातन्त्र दिवसको अवसर पारेर झण्डोत्तोलन गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले ६५ वर्षको उमेरमा ६५ फिटको झण्डा फहराउन पाउनुलाई ठुलो अवसरका रूपमा लिएको बताउनुभयो ।
कार्यक्रममा स्मारक विकास समितिका अध्यक्ष एवम् बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले ३ करोड नेपालीले रुचाएको व्यक्तिबाट ३ करोड नेपालीको राष्ट्रिय झन्डा फहराइएको बताउनुभयो ।
उहाँले स्मारक बागमती प्रदेशको मात्र नभई नेपालकै उत्कृष्ट पार्कका रूपमा विकास हुँदैगएको बताउनुभयो । सहिद स्मारक स्वदेश तथा विदेशी पर्यटकको पनि रोजाइको गन्तव्य बन्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
स्मारक परिसरमा राखिएको सो झण्डा जिल्लाकै सबैभन्दा ठुलो र अग्लो रहेको स्मारक विकास समितिका सचिव रघुनाथ खुलालले चर्चा गर्नुभयो । स्मारकमा छिमेकी देश भारतबाट समेत पर्यटकको आवागमन हुने हुँदा राष्ट्रिय झन्डा फहराउँदा सकारात्मक सन्देश जाने उहाँले बताउनुभयो ।
संविधानसभा सदस्य अनन्त पौडेल, बागमती प्रदेशकी पूर्व राज्यमन्त्री जुनेली श्रेष्ठ, बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई, हेटौँडा–११ का वडाध्यक्ष जुना दाहाल, ४ नम्बर वडाध्यक्ष नवीन सिग्देललगायतको उपस्थिति थियो ।