• १३ साउन २०८१, आइतबार

मुख्यमन्त्री यादवले तेस्रो पटक विश्वासको मत लिनुहुँदै

blog

मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादव ।

लक्ष्मी चौधरी

जनकपुरधाम, फागुन ४ गते । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रो पटक विश्वासको मत लिने हुनुभएको छ । मधेश सरकारमा सहभागी जनमत पार्टीले माघ ९ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले आइतबार तेस्रो पटक विश्वासको मत लिने हुनुभएको हो । आइतबार २ बजे प्रदेश सभाको बैठक समेत बोलाइएको छ ।

सङ्घीय गठबन्धनको बैठक सम्पन्न भएसँगै मधेश प्रदेशका मुख्यमन्त्री यादवले ६ गते विश्वासको मत लिने निर्णय गर्नुभएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । 

वि.स. २०८० जेठ १ गते मधेश सरकारमा रहेको नेकपा (एमाले) ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले ३० औं दिनमा जेठ ३० गते दोस्रो पटक विश्वासको मत लिनुभएको थियो । 

सरकारलाई दिएको समर्थन कुनै दलले फिर्ता लिएमा पुनः ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने कानुन नेपालको संविधान २०७२ को धारा १८८ को २ मा मुख्यमन्त्रीले जुनसुकै बेला संसद् बैठक आह्वान गरी विश्वासको मत लिन सक्ने प्रावधान छ । 

मधेश प्रदेश सरकारमा १ सय ७ प्रदेश सभा सदस्यमध्ये बहुमतका लागि ५४ सदस्यको समर्थन चाहिन्छ । मधेश प्रदेश सभामा सबैभन्दा ठूलो दलको रुपमा रहेको नेकपा (एमाले) को २३ सिट, नेपाली काँग्रेसको २२ सिट र जनता समाजवादी पार्टी नेपालको १८ सीट रहेको छ । 

सभामा जनमत पार्टीको १३, लोकतान्त्रिक समाजवादी पार्टीको ९, नेकपा (माओवादी केन्द्र) को ९ र नेकपा (एकीकृत समाजवादी) पार्टीको ७, नेपाल संघीय समाजवादी पार्टी १, नागरिक उन्मुक्ति पार्टी १, राष्ट्रिय प्रजातन्त्र पार्टी १ सिट र ३ स्वतन्त्र रहेको प्रदेश सभा सचिवालयका प्रवक्ता अरुणकुमार झाले बताउनुभयो । उहाँका अनुसार स्वतन्त्र निर्वाचित प्रदेशसभा सदस्यहरु कुनै पार्टीमा प्रवेशको आधिकारीक रुपमा सचिवालयमा कुनै जानकारी नभएको बताउनुभयो । 

मधेश प्रदेश सरकारमा जसपा नेतृत्वको सरकारमा नेपाली कांग्रेस, लोसपा,  माओवादी केन्द्र र नेकपा (एस) रहेका छन् । चार दल मिलाउँदा ६५ जनाको समर्थन देखिएको छ ।