रमेश पौडेल
पोखरा, फागुन ४ गते। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीयतालाई सफल बनाउनका लागि संघीय सरकार मात्र नभई अब संघीय सांसदको पनि क्रियाशीलता आवश्यक रहेको बताउनुभएको छ।
गण्डकी प्रदेश सरकारको स्थापना दिवसको अवसरमा आयोजित मूल समारोह कार्यक्रममा बोल्नु हुँदै मुख्यमन्त्री पाण्डेले सो कुरा बताउनुभएको हो। उहाँले भन्नुभयो, ‘प्रदेशको आवश्यकता छैन् भन्ने भाष्य निर्माण भएर वितृष्णा फैलाउन खोज्ने सबैलाई सकरात्मक जवाफ दिन पनि संघीय सांसदको भूमिका प्रभावकारी हुनुपर्दछ।’
मुख्य मन्त्री पाण्डेले संघ सरकारले आवश्यक कानुन बनाउन नसक्दा र संविधानले दिएको अधिकारलाई कार्यान्वयन गर्न कठिन भएको यस बेला प्रदेशमा रहेर संघमा प्रतिनिधित्व गर्नुभएका सांसद र संघमा रहेर प्रदेशमा आउनुभएका सांसदको भूमिका पनि खोज्नुपर्ने समय आएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘सरकारले बिजनेस दिएन भनेर मात्र हुँदैन, सांसदले पनि आफ्नो भूमिका खोज्नुपर्छ, संघले काम नगर्ने हुँदा जनताको अपजस प्रदेश सरकारले भोगिरहेको छ।’
मुख्यमन्त्री पाण्डेले संघीय शासन प्रणालीमा सरकारका तहहरु बीच शक्ति संङ्घर्ष र प्रतिस्पर्धा नतिजा प्राप्तिका लागि हुने निरन्तर प्रक्रिया भएकाले सरकारका तह बीच सुमधुर अन्तरसम्बन्ध र समन्वय संघीयताको अनिवार्य शर्त भएको उल्लेख गर्नुभयो। उहाँले नागरिकको असीमित आकांक्षा र सीमित स्रोत साधनको बिच तालमेल मिलाउन सरकारले सिर्जनशील रणनीति तय गर्नुपर्ने बताउनुहुँदै जनविश्वास सुदृढ गर्नुपर्नेमा सरकार सचेत रहेको उल्लेख गर्नुभयो।
स्थापनाकालदेखिका सरकारले गरेका कार्य सम्पादन, उपलब्धि, सामथ्र्य नै गण्डकी प्रदेशका आधार स्तम्भ भएको उल्लेख गर्नुहँुदै मुख्यमन्त्री पाण्डेले राजनीतिक इच्छाशक्ति, संविधानप्रतिको प्रतिबद्धता, सामूहिक भाव र नागरिकप्रतिको जिम्मेवारी नै गण्डकी प्रदेश सरकारका समुन्नति र उन्नतिका मार्गचित्र बनेको बताउनुभयो। उहाँले प्रदेशको सुचकाङ्कमा अन्य प्रदेशको तुलनामा नागरिकको जीवनमा सकारात्मक उन्नयनका आशा जगाएको बताउनुभयो।
मुख्यमन्त्री पाण्डेले जनता सामु गरिएका प्रतिबद्धता पूरा गर्ने कामलाई सरकारले आफ्नो जिम्मेवारीको रुपमा लिएको बताउनुभयो भने सुशासन, सेवा प्रवाह, जवाफदेहिता, भ्रष्टाचार नियन्त्रण, शासनमा नागरिकको पहुँच अभिवृद्धिमा सरकार सदैव दृढ र प्रतिबद्ध भएको धारणा पनि राख्नुभयो।
त्यसैगरी गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री सांसद पृथ्वीसुब्बा गुरुङले संघीयता भनेको नै प्रदेश भएकाले प्रदेशलाई बलियो बनाए मात्र संघीयता बलियो हुने बताउनुभयो। उहाँले आफ्नो पालामा स्थापना भएको गण्डकी प्रदेश सरकार अन्य प्रदेश भन्दा अब्बल बन्दै गएको धारणा राख्नुभयो। पूर्व मुख्यमन्त्री गुरुङले संघ सरकारबाट अधिकार ल्याउनका लागि धेरै प्रयत्न गरेपनि अझैसम्म आउन नसकेको स्वीकार गर्नुभयो।
त्यसैगरी निवर्तमान मुख्यमन्त्री एवं गण्डकी प्रदेश संसदीय दलमा प्रमुख प्रतिपक्षी एमालेका नेता खगराज अधिकारीले प्रदेशले पाउने अधिकारलाई संघले दिन नसक्दा प्रदेश आलोचित भएको बताउनुभयो। उहाँले प्रदेश सरकारलाई बलियो बनाउने काममा सबै दल एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो।
गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले संघले जसरी कानुन निर्माण गर्छ सोहीअनुरुप प्रदेशले पनि कानुन बनाउन आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङ र पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेल स्वस्थ्यमा समस्या भएका कारण उपस्थित हुन सक्नुभएन।
गण्डकी प्रदेश सरकारद्वारा आयोजित सो कार्यक्रममा सहिदचोकदेखि गण्डकी प्रदेश कार्यालयसम्म विभिन्न जनजातिका झाँकी, नेपाल प्रहरीको व्याडबाजासहित मन्त्री, सांसद, निजामती कर्मचारी, एवं विभिन्न संघसंस्थाको सहभागिता रहेको थियो।
सो समारोहमा गण्डकी प्रदेशका विभिन्न ११ जिल्लाका उत्कृष्ट कार्यालय र कर्मचारीको घोषणा गरिएको थियो। जसमा निजामती पुरस्कार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कानुन सचिव शम्भुराज रेग्मीलाई सर्वोत्कृष्ट प्रदेश निजामती सेवा पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ। १ लाख राशी र सम्मानपत्रसहितको सर्वोत्कृष्ट प्रदेश निजामती सेवा पुरस्कार प्राप्त गर्ने रेग्मी बागलुङका हुनुहुन्छ।
खरिदारबाट निजामती सेवामा प्रवेश गर्नुभएका उहाँ २४ वर्षदेखि निरन्तर कार्यरत हुनुहुन्छ। पुरस्कार दिइने घोषणाले आफूलाई निकै खुसी लागेको उहाँले बताउनुभयो।
यस्तै, ७५ हजार राशिको उत्कृष्ट प्रदेश निजामती सेवा पुरस्कार ३ जना कर्मचारीलाई दिइएको छ। उहाँहरुमा जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय पर्वतमा कार्यरत विष्णुहरि अधिकारी (इन्जिनियर आठौं), मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका शाखा अधिकृत प्रदीपचन्द्र सुवेदी र यातायात व्यवस्था कार्यालय सवारी कास्कीमा कार्यरत समीना पुन (मेकानिकल इन्जिनियर सातौं) हुनुहुन्छ।
यसैगरी, ५० हजार राशिको प्रदेश निजाती सेवा पुरस्कार ६ जनालाई दिइने घोषणा गरिएको छ। उक्त पुरस्कार प्राप्त गर्नेमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकृत सातौं शिव लम्साल, आर्थिक मामिला मन्त्रालयका कानुन अधिकृत तेजेन्द्रप्रसाद ढकाल, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मनाङका आयुर्वेद चिकित्सक डा. शंकर गौतम, पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय पोखराका अधिकृत छैटौं (प्राविधिक) सुरेशकुमार श्रेष्ठ, गोरखा असपतालका सिनियर अनमी प्रतिमा श्रेष्ठ र पर्यटन तथा उद्योग कार्यालयका सहायकस्तर पाँचौंका अर्जुनप्रसाद काफ्ले हुनुहुन्छ। सो पुरस्कार आगामी गणतन्त्र दिवस अवसरमा हस्तान्तरण गरिने कुरा मुख्यमन्त्री कार्यालयका सचिव तिर्थ भट्टराईले जानकारी दिनुभयो।