• ३ जेठ २०८१, बिहिबार

ड्रागन खेतीतर्फ कृषकको बढ्दो आकर्षण

blog

हिमाली गाउँपालिका –६ का विष्णुराज पाण्डेको ड्रागन खेती । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, फागुन ४ गते । पछिल्लो समय बाजुराका अधिकांश कृषकको ड्रागन खेतीमा आकर्षण बढ्दैगएको छ । पहिला स्याउ सुन्तला अमिलो कागती ओखरलगायतका फलफुल उत्पादन गर्दैआएका यहाँका किसानलाई ढुवानीमा बाटोको समस्या भएको थियो । अहिले गाउँ–गाउँमा सडक सञ्जालको पहुँच भएसँगै जिल्लाका अधिकांश कृषकले पछिल्लो समय ड्रागन खेती गर्न थालेका छन् ।

यो ड्रागन खेती गर्दा यहाँका कृषकलाई जिविकोपार्जनमा सहज हुने देखिएपछि उनीहरु अहिले ड्रागन खेतीतर्फ आकर्षित बन्दैगएका हुन् । ड्रागन खेती गर्दा बाँझो जमिनको सदुपयोग हुने र आर्थिक अवस्थामा पनि राम्रो परिवर्तन ल्याउने सम्भाना रहेपछि आफू ड्रागन खेती गर्न लागेको हिमाली गाउँपालिका –६ का विष्णुराज पाण्डेले बताउनुभयो । 

उहाँले भन्नुभयो, “अहिले मैले परीक्षणका लागि आठ सयभन्दा बढी ड्रागनको बोट रोपेको छु । अहिले रोपेको सबै राम्रो भएको छ । केही सयमपछि फेरि थप लगाउने योजना बनाएको छु ।”

गाउँमा बहुउद्देश्य कृषि फर्म दर्ता गरेको छु । यो फर्मको आधारले कृषि ज्ञान केन्द्रले पनि ५० प्रतिशत सहयोग गरेपछि चितवनबाट आठसय ड्रागनको बोट ल्याएर रोपेको भण्डारीले बताउनुभयो ।

यो फलको तौल दुई सयदेखि एक किलो पचास ग्राम जति हुन्छ । पानी, प्रोटिन, खरानी, चिल्लो, प्रदार्थ, रेसा, क्यारोटिन, क्याल्सियम फोसफोरस, फलाम, भिटामिन वान, भिटामिन बिटु, भिटामिन बिथ्री, भिटामिन सी, थायमिन र नियसिनलगायतका तत्वहरु पाइने कृषि विज्ञको भनाइ छ ।

बाजुराको हिमाली र बडिमालिका नगरपालिका अधिकांश स्थानीयले पछिल्लो समय ड्रागन खेती सुरु गरेका छन् । ड्रागन मानव स्वास्थ्यका लागि निकै उपयोगी हुने र यहाँका स्थानीयको आर्थिक अवस्थामा समेत यसले निकै परिवर्तन ल्याउने सम्भावना देखिएकाले कृषकलाई ड्रागन खेती गर्नमा सहयोग गर्दैआएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।