• ४ जेठ २०८१, शुक्रबार

‘समृद्ध नेपालः सुखी नेपाली’ समाजवाद ल्याउने विचार हो : अध्यक्ष ओली

blog

कार्यक्रममा सम्बोधन गर्नुहुँदै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली । तस्विरः रासस

गोरखापत्र अनलाइन

काठमाडौं, फागुन ४ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपालः सुखी नेपाली’ नै नेपालमा समाजवाद ल्याउने विचारधारा रहेको बताउनुभएको छ । 

पार्टी निकट नेपाल बुद्धिजीवी परिषद्ले शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले आफ्नो पार्टीले नेपालमा समाजवाद स्थापनाका लागि नै सो अवधारणालाई अघि सारेको बताउनुभयो । नेपालले गरिबीविरुद्धको लडाइंँमा सफलता हासिल गरेर मात्र समाजवादमा पुग्ने भएकाले आफ्नो पार्टीले जनतामा खुसी ल्याउनेगरी मुलुकको समृद्धिको बाटो तय गरेको अध्यक्ष ओलीले बताउनुभयो । 

उहाँले नेपालले समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने कुरा संविधानमै व्यवस्था गरेकाले त्यसको कार्यान्वयनमा आफूहरुले जोड दिएको बताउनुभयो । ओलीले समाजवादउन्मुख अर्थतन्त्र निर्माणका लागि निजी क्षेत्रसँगको सहकार्यलाई अझ घनीभूत बनाएर लैजानुपर्ने आवश्यकता औंल्याउनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो प्राथमिकता राष्ट्रिय स्वतन्त्रता हो । हाम्रो परराष्ट्र नीति र सम्बन्ध पारस्परिक लाभ, आपसी सम्मान, सामाजिक न्यायको आधारमा हुन्छ । हामी प्रतिबद्ध छौं समृद्ध नेपालः सुखी नेपालीको राष्ट्रिय सङ्कल्प पूरा गर्न । समृद्ध नेपालः खुशी नेपाली नै नेपाली सन्दर्भको समाजवादी विचारधारा हो । गरिबीविरुद्धको लडाइँमा सफलता हासिल गर्नु नै नेपाली विकासको अवधारणा हो ।’

अध्यक्ष ओलीले राष्ट्रिय हित, पारस्परिक लाभ, सम्मान र सामाजिक न्यायमा आधारित परराष्ट्र नीतिको पक्षमा आफ्नो पार्टी दृढ रहेको बताउनुभयो ।