• १३ असोज २०८१, आइतबार

कीर्तिपुरमा आमा दौड

blog

काठमाडौँ, फागुन ३ गते । अन्तर्राष्ट्रिय महिला दिवस (मार्च ८) को दिन एनआरएस स्पोर्ट्स फाउण्डेसनले कीर्तिपुर नगरपालिकाको सहकार्यमा कीर्तिपुरमा आमा दौड आयोजना गर्ने भएको छ । 

कीर्तिपुर नगरपालिका कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा आमाहरुलाई खेलकुदप्रति जागरुक गराउनका लागि आमा दौड आयोजना गर्न लागेको जानकारी दिइयो । फागुन २५ गते हुने दौड ५ र ३ किलोमिटरको हुनेछ । 

कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीले आमा दौड आफैमा नयाँ प्रयोग हुने भएकाले यसले हरेक परिवारमा प्रभाव पार्ने बताउनुभयो । मेयर नकर्मी र फाउन्डेसका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले दौड आयोजनाको सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो  । 

एसियाली खलकुदकी कास्य पदक तथा १३औँ दक्षिण एसियाली खेलकुद (साग) की दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यले आमाहरुले आफ्नो लागि पनि समय निकाल्नु पर्छ भन्ने सन्देश दिनका लागि आमा दौड प्रभावकारी हुने बताउनुभएको छ ।

कीर्तिपुर नगरपालिकाकी उपमेयर शुभलक्ष्मी शाक्यले आमा दौडमार्फत नगरपालिकाको परिचय दिनका लागि पनि सहयोगी हुने विश्वास छ, भन्नुभयो । 

दौडका क्रममा कीर्तिपुरको पर्यटन प्रबन्ध र स्थानीय खानाको प्रवर्धनका लागि फुड फेस्टिबलमा गरिने बताइएको छ । 

नाम आमा दौड भए पनि दौडमा जो कोहिले पनि भाग लिन सक्ने र त्यसका लागि दर्ता शुल्क तीन सय रुपियाँ लाग्ने फाउन्डेसनले जानकारी दिएको छ । कीर्तिपुर नगरपालिकाले दौडमा भाग लिने आफ्ना नगरका तीन सय जनाको दर्ता शुल्क बेर्होने पनि मेयर नकर्मीले जानकारी दिनुभयो ।

फाउन्डेसनका अध्यक्ष श्रेष्ठले यसपटकको आयोजना सफल भएको खण्डमा हरेक वर्ष आमा दौड आयाेजना गरिने बताउनुभयाे । यसलाई प्रतिस्पर्धा भन्दा पनि आमाहरूलाई जागरुक गराउन आयोजना गरिएको जनाइएको छ ।