विराटनगर, फागुन ३ गते । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले वितृष्णाको वातावरणमा प्रतिगामीहरुले खेल्ने कोशिस गरिरहेको बताउनुभएको छ ।
बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले वितृष्णाको वातावरणमा खेल्ने कोशिसलाई राजनीतिक दलहरु र सम्पूर्ण नागरिकहरुले सामना गरेर अघि बढ्नका लागि एताबद्ध हुन जरुरी रहेको बताउनुभयो ।
उहाँले मुलुकलाई समृद्धिको बाटोमा अग्रसर गराउन राजनीतिक दलहरूबिच एकता रहेको बताउनुभयो । उहाँले समृद्ध मुलुकका लागि राजनीतिक दलहरूबीच एकता आवश्यक रहेको जानकारी दिनुभयो ।
सभामुख घिमिरेले पछिल्लो समय व्यवस्था र राजनीतिक दलका विषयमा जनमानसमा नैराश्य छाएकाले गर्दा पनि राजनीतिक दलहरूमा एकता रहनु जरुरी रहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘‘राष्ट्रिय समृद्धिका लागि राष्ट्रिय सहमति हुन जरुरी छ । अर्थतन्त्र बलियो बनाउने, गतिका साथ राष्ट्र निर्माणका कार्यमा अघि बढ्न, साझा सवालमा सहमति गरेर नै अघि बढ्नुपर्छ । सहमतिबाट नै योजनाहरु बन्नुपर्छ । अहिले जसरी वितृष्णाको वातावरणमा खेल्ने कोशिस भइरहेको छ, यसलाई सामना गर्न मूलतः राजनीतिक दलहरुले र सँगै सम्पूर्ण नागरिकले यसको सामना गरेर अघि बढ्नका लागि एकताबद्ध भएर अघि बढ्नुपर्छ ।’’
सभामुख घिमिरेले सरकारले संसदमा विस्तारै बिजनेस दिइरहेको बताउनुभयो ।