• १४ मंसिर २०८१, शुक्रबार

राजनीतिमा जीवन बित्यो, रोगले च्याप्दा न त घरवास न अन्नपात

blog

लाकुरे दमाईको स्वास्थ्य अवस्थाबारे जाकारी लिनुहुँदै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक, उपाध्यक्ष मञ्जु मल्ल र वडाध्यक्ष धनीराम वली । तस्बीर : गोविन्द शर्मा

गोविन्द शर्मा
बाँके, फागुन ३ गते ।
बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ सीतापुरमा अस्थायी रुपमा बसोबास गर्दै आउनुभएका लाकुरे दमाईको जीवनको ऊर्जाशLल समय वर्गीय मुक्ति आन्दोलन र समाज परिवर्तनको अभियानमा बित्यो ।

कम्युनिष्ट पार्टीमा सङ्गठित भएपछि पञ्चायतकालदेखि व्यक्तिगत सम्पत्ति जोड्नभन्दा पनि देश र जनताका लागिपरेका दमाई पछिल्लो समय गम्भीर बिरामी पर्नुभएको छ । अरुको घरमा आश्रय लिएर सपरिवार बस्दै आउनुभएका दमाईको न त बस्ने घरबास छ न त खाने अन्न नै छ । आफूलाई भेट्न आउनेलाई उहाँ आफ्नो बाँच्न पाउने अधिकारको सुनिश्चितता गरिदिन अनुनय विनय गर्दै आउनुभएको छ ।

स्याङ्जाको अधिखोलाका दमाई सानैदेखि कम्युनिष्ट पार्टीमा आबद्ध हुनुभयो । दमाई भन्नुहुन्छ, ‘‘पार्टी भनेर जीवनभर लागियो, अहिले सहारा चाहिएको समयमा कसैले पनि वास्ता गर्दैनन्, भेट्न पनि आउँदैनन् ।’’

उहाँ नेकपा (एमाले)को भातृ सङ्गठन नेपाल उत्पीडित जातिय मुक्ति समाजको केन्द्रीय सदस्यसम्म हुनुभयो । पञ्चायतकालदेखि २०६२/६३ को आन्दोलनमा सक्रिय सहभागिता जनाएका उहाँ सो क्रममा पटक–पटक गिरप्तारमा पर्नुभएको छ ।

लामो समयसम्म बिताएको पार्टी र नेतृत्वले अहिले आफू थला परेको अवस्थामा नसम्झिएकोमा लाकुरेलाई रोगले भन्दा बढी सताएको छ ।

स्वास्थ्यकर्मी समेत रहनुभएका खजुरा गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष धनीराम वलीले आफूहरुको पहलमा लाकुरेको राजधानीसम्म लगेर उपचार गराएको बताउनुभयो । लाकुरे कलेजो, मधुमेह, मिर्गौला र मुटु रोगबाट पीडित हुनुहुन्छ ।

वडाध्यक्ष वलीले भन्नुभयो, ‘‘मधुमेहका बिरामी भएकाले अन्य रोगको उपचारमा समस्या भएको छ ।’’

उहाँले लाकुरेको परिवार अस्थायी रुपमा बस्दै आएको भए पनि मानवीय हिसावले गाउँपालिकाले निर्माण गरेको सामूहिक आवासमा बस्न घर दिने प्रक्रिया अघि बढाइएको बताउनुभयो ।

खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले आजीवन देश र जनताको पक्षमा लागेका व्यक्तिलाई खाद्यान्न लगायतका प्रारम्भिक सहयोग गरिने बताउनुभयो ।

उहाँले विपन्न घर परिवारका लागि पालिकाले सक्दो सहयोग गर्दै आएको बताउनुभयो ।

लाकुरेले बस्दै आएको घरको एक वर्षसम्मको विद्युत् महसुल समत तिर्न नसकेको बताएपछि गाउँपालिकाका उपाध्यक्ष मञ्जु मल्लले महसुल शुल्क व्यक्तिगत रुपमा तिरिदिने बताउनुभयो ।