• १३ असोज २०८१, आइतबार

शान्तिसुरक्षा र सुशासनका पक्षमा गुणात्मक काम गर्नुस् : गृहमन्त्री

blog

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी उपरीक्षकहरुलाई निर्देशन दिनुहुँदै । तस्बिर : मन्त्री श्रेष्ठको सचिवालय

काठमाडौं, फागुन ३ गते । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी उपरीक्षक (एसपी)हरुलाई शान्तिसुरक्षा, सेवा र सुशासनका पक्षमा गुणात्मक काम गर्न निर्देशन दिनुभएको छ ।

गृहमन्त्री श्रेष्ठले सरुवा भएर विभिन्न जिल्ला तथा कार्यालय प्रमुखका रूपमा गएका एसपीहरूलाई कार्यकाल सफलताको शुभकामना दिनुहुँदै शान्तिसुरक्षा, सेवा र सुशासनका पक्षमा गुणात्मक काम गर्न निर्देशन दिनुभएको हो ।

माघ १ गते २२ वटा जिल्ला प्रहरी कार्यालय, सात वटा प्रहरी गण, चार वटा ट्राफिक प्रहरी कार्यालय र एक अन्य गरी ३४ जना एसपीलाई नयाँ प्रमुखका रूपमा सरुवा गरिएको थियो ।


बिहीबार बिहान गृह मन्त्रालयमा सचिव दिनेश भट्टराई र प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसहितको उपस्तिथिमा भएको शुभकामना तथा निर्देशन कार्यक्रममा गृहमन्त्री श्रेष्ठले सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य किटान गरेर कार्यक्षेत्रमा खट्न आग्रह गर्नुभएको छ । यसअघि नयाँ जिम्मेवारी तोकिएका प्रमुख जिल्ला अधिकारीहरूलाई पनि उहाँले मन्त्रालयमा बोलाएर शुभकामना तथा सरकारका प्राथमिकतामा काम गर्न सामूहिक निर्देशन दिनुभएको थियो ।

जिम्मेवारीमा जानुअघि अधिकारीहरूलाई आवश्यक निर्देशन दिने प्रचलनको सुरुवात गृहमन्त्री श्रेष्ठले नै गर्नुभएको हो । यसले अधिकारीहरूलाई सरकारको कार्यभार, नीति र कार्यक्रमको स्पिरिट बुझेर काम गर्न तथा कार्यकुशलता देखाउन हौसला मिल्ने विश्वास मन्त्रालय नेतृत्वले लिएको छ ।


सरकारले पहुँच र विभिन्न स्वार्थका आधारमा होइन क्षमता, कार्यदक्षता र अवसरको मापदण्ड बनाएर सरुवा गर्ने नीति अगाडि बढाइसकेकोले बिना सङ्कोच, दबाब र प्रभाव मुक्त भएर कानुन बमोजिम प्रशासनिक र सुरक्षा चुनौती सामना गर्न गृहमन्त्री श्रेष्ठले निर्देशन दिनुभयो ।

अब सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल नचल्ने र जिम्मेवारी निर्वाहमा कमजोरी देखिए तत्काल कार्वाही गरिने उहाँले बताउनुभयो । प्रमुखको जिम्मेवारी पाउन दल एवम् नेताहरूको ढोका चहार्ने, बिचौलियामार्फत घुसको अफर गर्ने र आफूले जिम्मेवारी नपाए जिम्मेवारी पाउने सहकर्मीको बदनाम गर्ने प्रवृत्ति त्याग्न उहाँले प्रहरी अधिकारीहरूलाई निर्देशन दिनुभयो ।

लागू औषध नियन्त्रण र कारोबारीलाई कडा कारबाही गर्न, त्यसविरुद्ध युवाहरूबिच सचेतना कार्यक्रम गर्न, सुधार केन्द्रहरू बनाउन, यी सबै योजनामा प्रदेश तथा पालिका सरकारसँग समन्वय गरेर काम गर्न र मिटर ब्याजीको नाममा कुनै बिचौलिया देखिए ध्यान दिएर कारबाही गर्न समेत उहाँले निर्देशन दिनुभयो ।


मन्त्रालयले प्रहरी अधिकारीहरूको सरुवा, काज सरुवा र पदस्थापनमा निश्चित मापदण्ड तय गरिसकेको छ । त्यही मापदण्डअनुसार एसपीहरूको नयाँ जिम्मेवारी तोकिएको हो । पहुँच र भनसुन आधारमा नभएर सेवाअवधि, क वा ख वर्गका जिल्लामा काम गरेको आधार, जिल्ला प्रमुखको रूपमा काम गरेको आधार र एउटै जिम्मेवारीमा नदोहोरिने गरी मापदण्ड बनाईएको हो ।

जस्तो किः क वर्गका जिल्लामा काम गरिसकेका प्रहरी अधिकारीको ख बर्गका जिल्लामा सरुवा हुनेछ भने ख वर्गका जिल्लामा काम गरिसकेका प्रहरी अधिकारीको क वर्गका जिल्लामा सरुवा हुनेछ । त्यस्तै कुनै जिल्लामा प्रमुखका रूपमा काम गरिसकेका प्रहरी अधिकारीको पुनः अर्को जिल्लामा तत्काल प्रमुखकै रूपमा सरुवा हुन नसक्ने मापदण्ड तय गरिएको छ ।

अब सरुवा मापदण्ड प्रभावकारी बनाउन पहिल्यै योग्य अधिकारीहरूको सूची सार्वजनिक गरी त्यसैभित्रबाट जिम्मेवारी तोकिने तयारी मन्त्रालयले गरेको छ ।