• १२ असोज २०८१, शनिबार

घोराही–कमिरेचौर सडक जीर्ण

blog

जीर्ण भएको घोराही सिस्नेखोला–कमिरेचौर सडक ।

लीलाधर वली

घोराही, फागुन २ गते । सिमेन्ट उद्योगका लागि चुनढुङ्गा बोक्ने टिप्परका कारण करिब ३४ करोड रुपियाँ खर्च गरेर कालोपत्रे गरिएको घोराही–कमिरेचौर सडक जीर्ण बनेपछि पुनः सडक धुलाम्मे भई खाल्टाखुल्टीमा परिणत भएको छ । घोराही–मुर्कटी–प्युठान सडक अन्तर्गत घोराही उपमहानगरपालिकाको नवलपुर सिस्नेखोलादेखि बङ्गलाचुली गाउँपालिकाको तापा–कमिरेचौरसम्मको करिब १७ किलोमिटर सडक जीर्ण बनेको छ ।

सडक डिभिजन कार्यालय दाङमार्फत लुम्बिनी जलजला जेभीले करिब छ वर्षभित्र सडक निर्माण सक्ने गरी ३४ करोड १६ लाख ७७ हजार रुपियाँ बजेटमा २०७२ साल असारमा ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार निर्माण कम्पनीले दुई वर्षअघि गरेको कालोपत्रे अहिले भेट्टाउनै मुस्किल पर्ने अवस्थामा पुगेको स्थानीय छविलाल पाण्डेयले बताउनुभयो । निर्माण कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा उक्त सडक कालोपत्रे गरेको थियो । कालोपत्रे गरिए पनि क्षमताभन्दा बढी भार बोकेर चल्ने सिमेन्ट उद्योगका लागि चुनढुङ्गा बोक्ने टिप्परका कारण सडक तहसनहस भएको बङ्गलाचुली निवासी पाण्डेयले बताउनुभयो । उहाँका अनुसार ओभर लोड बोक्ने टिप्परका कारण सडक धुलाम्मे भई खाल्टाखुल्टीमा परिणत भएको हो । 

उहाँले भन्नुभयो, “सडक कालोपत्रे गरिएपछि केही समय धुलो र खाल्टाखुल्टीबाट राहत मिलेको थियो तर बिस्तारै पुरानै अवस्थामा पुगेको छ ।” उहाँका अनुसार कालोपत्रे गरिएको सडकमा अहिले स्थानीयले धुलोको सास्ती खेप्नु परेको छ । घोराही सिमेन्ट उद्योग र सम्राट् सिमेन्ट उद्योगका लागि चुनढुङ्गा बोक्ने टिप्परका कारण सडकको अवस्था बिग्रिएको भन्दै सडक निर्माणको जिम्मा पाएको लुम्बिनी जलजला जेभीले क्षतिपूर्ति मागसहित अदालतमा मुद्दा दर्ता गरेको सडक डिभिजन कार्यालय दाङका प्रमुख गुरुप्रसाद अधिकारीले बताउनुभयो । सडक हस्तान्तरण नहुँदासम्म बिग्रिएको सडक बनाउने काम निर्माण व्यवसायीको भए पनि सिमेन्ट उद्योगको टिप्परका कारण सडकको अवस्था बिग्रिएको भन्दै काम गर्न नमानेको उहाँले बताउनुभयो ।

कार्यालय प्रमुख अधिकारीले भन्नुभयो, “निर्माण कम्पनीले नवलपुर सिस्नेखोलादेखि कमिरेचौर तापासम्म सडक कालोपत्रे गर्ने सम्झौता भएको थियो । सोही अनुसार कालोपत्रे गर्ने काम पनि भयो तर सडक हस्तान्तरण नगर्दै कालोपत्रे उक्कियो ।” निर्माण कम्पनीले सिमेन्ट उद्योगका चुनढुङ्गा बोक्ने टिप्परका कारण कालोपत्रे उप्किएको भन्दै क्षतिपूर्ति मागदाबीसहित अदालत पुगेपछि समस्या भएको उहाँको भनाइ छ । निर्माण व्यवसायी र सिमेन्ट उद्योगबिचको विवादका कारण सडक जीर्ण बन्दा स्थानीयले अनावश्यक सास्ती बेहोर्नु परेको छ । निर्माण कम्पनीले निर्माणाधीन अवस्थामै रहेको सडक भत्काएको आरोप लगाउँदै पाँच करोड रुपियाँ क्षतिपूर्ति पाउनुपर्ने माग गरेको छ । 

अदालतमा पुगेको विवाद टुङ्गिन समय लाग्ने भएपछि पछिल्लो समय नेपाल आर्बिट्रेटर काउन्सिलका माध्यमबाट समस्या समाधान गर्ने प्रयास भइरहेको सडक डिभिजन कार्यालयका प्रमुख अधिकारी बताउनुहुन्छ । सडकका प्रतिनिधि र निर्माण कम्पनीका एक/एक प्रतिनिधि गरी दुई जना र यिनै दुई जनाको सिफारिसमा काउन्सिलका प्रतिनिधि एक गरी तीन जना बसेर समस्या समाधान गर्ने प्रयास भइरहेको अधिकारीले बताउनुभयो । 

कालोपत्रे सडक भत्किएपछि स्थानीयलाई आउजाउ र साना सवारीसाधन चलाउन समस्या भएको छ । उनीहरूले सिमेन्ट उद्योगका टिप्परका लागि वैकल्पिक मार्गको माग गरेका छन् । हालसम्म वैकल्पिक सडक निर्माण हुन सकेको छैन । यसले गर्दा घोराही नवलपुर सिस्नेखोला–तापा सडकखण्डमा घोराही सिमेन्ट उद्योग, सोना सिमेन्ट र सम्राट् सिमेन्ट उद्योगका चुनढुङ्गा बोक्ने टिप्पर नियमित चल्दै आएका छन् ।