• १४ मंसिर २०८१, शुक्रबार

बाली बचाउन रातभरि बारीमै बास

blog

बोमलाल गिरी 

नवलपुर, माघ २१ गते । माघको मध्य महिना । रातिको १० बजिसकेको छ । हुस्सु कति बाक्लो लागेको छ भने १० मिटर अगाडिको वस्तु देख्न पनि हम्मेहम्मे छ । शीत झरिरहेको छ । चिसो र शीतलहरले मुढामा सल्काएको आगो पनि निभ्न लागिसकेको छ । हात कठ्याङ्ग्रिएका छन् । तर पनि आठ र १० वर्षका दुई नाति, नातिनी र बुहारीसँगै बारीमा न्यानो महसुस गरिरहनुभएको छ ५८ वर्षीया कुस्मादेवी यादव । पछाडिपट्टि बालबच्चालाई सुत्नका लागि सानो मडै बनाइएको छ । तर जाडोले उनीहरू सुत्न नसकेर आगोको वरिपरि झुम्मिइरहेका छन् । 

पश्चिम नवलपरासीको सुस्ता–५ की कुस्मादेवीको झन्डै छ महिनाका लागि यो नियमित कार्य हो । उहाँले बारीमा गहुँ लगाउनुभएको छ । झन्डै पाँच सय मिटर पर भारत बिहारको जङ्गल छ । त्यहाँबाट नीलगाई, बँदेललगायतका जङ्गली जनावर आई गहुँ खाइदिने भएकाले त्यसलाई जोगाउन यसरी रातभर जाग्राम बस्नुको विकल्प छैन । 

अलि पर राजेश माझी र उहाँकी श्रीमती सकुन्तला पनि यसरी नै आगो ताप्दै रातभर जाग्राम बसिरहनुभएको छ । “यसरी रातभर कुरिएन भने भारतबाट आएर जङ्गली गाईले गहुँ एकै छिनमा स्वाहा पारिदिन्छन् । अनि हामीले के खाने ?,” राजेशले भन्नुभयो, “त्यसैले यसरी नै गहुँ जोगाउने हाम्रो नियति हो ।” 

गहुँ उम्रिएदेखि वैशाखसम्म नकाटुन्जेल यसरी नै कुर्नुपर्ने सुस्ताका सबै गहुँ किसानको बाध्यता हो । राजेशका अनुसार कहिलेकाहीँ बाघ पनि आउँछ तर बाघ आएको बेला बँदेल र नीलगाई आउँदैनन् । पाँच कट्ठामा गहुँ लगाएका राजेश दिनभरि भने मिस्त्री काम गर्नुहुन्छ । 

छ कट्ठामा लगाइएको गहुँ जोगाउन कुस्मादेवीको परिवार पनि रातभर जाग्राम बस्नुबाहेक अर्को उपाय छैन । “एकैछिन मान्छे देखिएन कि ५०, ६० वटाको समूहमा आउने नीलगाईले गहुँ एकैछिनमा सिध्याइदिन्छ । त्यसैले गहुँ नकाटुन्जेल यो हाम्रो नियमित ड्युटी हो,” कुस्मादेवीले भन्नुभयो । 

छोरा कमाउनका लागि भारत गएका छन् । श्रीमान्को मृत्यु भइसक्यो । बारीमा एक्लै बस्न गाह्रो हुन्छ, त्यसैले स्कुल जाने बच्चालाई समेत लिएर कुस्मादेवीले नीलगाईको ड्युटी गरिरहनु परेको छ । 

जङ्गली जनावरबाट बाली जोगाउनका लागि सरकारले केही सहयोग गरिदिए हुन्थ्यो भन्ने सुस्तावासीका किसानको आग्रह छ । “विहारबाट जङ्गली जनावर आउँछन् । उनीहरूलाई रोक्न हामी त के नै गर्न सक्छौँ र ?” कुस्मादेवीकी बुहारी राजमतीले भन्नुभयो, “कम्तीमा सरकारले तारबार गरिदिए बाली जोगाउन त सजिलो हुने थियो ।” 

सुस्ता–५ का वडाध्यक्ष प्रभुनाथ यादवले यसरी तारबार गर्नु आफूहरूको क्षमताभन्दा बाहिरको कुरा भएको बताउनुभयो । “भारतबाट आउने जङ्गली जनावरले यहाँका किसानको बाली खाइदिएर हैरान बनाएको छ । त्यसलाई संरक्षण गर्न पूरै तारजाली लगाउनु पर्छ । त्यसका लागि करोडौँ रुपियाँको बजेट चाहिन्छ । त्यो स्थानीय सरकारको हैसियतबाहिरको कुरा हो,” उहाँले भन्नुभयो, “यसबारेमा सङ्घीय सरकारले नै सोच्नु पर्छ । अन्यथा यसरी नै रातभर जाग्राम बसेर बाली जोगाउनु पर्छ ।”

सुस्ताको भूमि अन्न बालीका लागि निक्कै उर्वर मानिन्छ । सुस्तावासीले उपयोग गरिरहेको सात हजार हेक्टर जमिनमध्ये झन्डै एक हजार पाँच सय हेक्टर जमिनमा किसानले तोरी, मसुरो र गहुँ बाली तथा साढे चार हजार हेक्टर क्षेत्रफलमा उखु खेती गरिरहेको सुस्ता बचाउ अभियानका कार्यवाहक अध्यक्ष आदम खानले जानकारी दिनुभयो ।