• १३ साउन २०८१, आइतबार

तीस प्रतिशत घरमा मात्रै धारा

blog

रङ्गेली समाचारदाता

विराटनगर, माघ ११ गते । विराटनगरमा अझै ६० प्रतिशतभन्दा बढी घरधुरीले भूमिगत जलस्रोतको प्रयोग गरिरहेका छन् । महानगरपालिका क्षेत्रमा ६०.७ प्रतिशत घरधुरीमा अझैसम्म पिउने पानीको धारा जडान भएको छैन । यी घरमा ट्युबेलको प्रयोग गरिँदै आएको छ । 

विराटनगर महानगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को नीति कार्यक्रम तथा बजेटमा उल्लिखित तथ्याङ्क अनुसार १९ वडामा ५६ हजार ९१९ घरधुरीमध्ये २९.७ प्रतिशत घरमा मात्रै धारा जडान भएको छ । विराटनगरमा ५.५ प्रतिशत घरधुरीले जार र बोतलको पानी प्रयोग गर्दै आएको तथ्याङ्क छ । महानगरपालिकाभित्रका ३.२ प्रतिशत घरधुरी अन्य स्रोतमा निर्भर छन् । घरमा धारा, ट्युबेल र जार तथा बोतल प्रयोग नहुने तर पानीका लागि कुनै न कुनै माध्यममा निर्भर रहनेलाई अन्य स्रोतमा राखिएको छ । 

महानगरपालिका खानेपानी शाखाका अधिकारी मुकेश कामतका अनुसार नेपाल खानेपानी संस्थानसहित विराटनगरमा तीन वटा उपभोक्ता समितिमार्फत धारामा पानी वितरण हुँदै आएको छ । खानेपानी संस्थानबाट १२ हजार ४७७ घरधुरीमा धारा जडान भएको छ । 

विराटनगरमा सबैभन्दा ठुलो खानेपानी वितरण प्रणाली भएको संस्थानको १८ वटा वडामा पानीको पाइपलाइन विस्तार भइसकेको छ । त्यसलाई थप विस्तार गर्न जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा नयाँ परियोजना निर्माण प्रव्रिmया सुरु भएको हो । 

खानेपानी संस्थानका सूचना अधिकारी होमप्रसाद चौलागाईंका अनुसार गत माघ ३ गतेको मन्त्रीपरिषद् बैठकले विराटनगर–५, कोलरहवामा १३ कट्ठा दुई धुर जग्गा जाइकाको सहयोगमा निर्माण हुने खानेपानी आयोजनाका लागि उपलब्ध गराउन स्वीकृति दिने निर्णय गरिसकेको छ । योसँगै संस्थानको नयाँ परियोजनामा १६ लाख ५० हजार लिटरको ओभरहेड ट्याङ्कीसहितको संरचना बन्ने छ ।  यो परियोजनाका लागि जाइकाले ग्लोबल टेन्डर आह्वान गर्ने कामका लागि जग्गा उपलब्ध गराउने निर्णयसँगै बाटो खुलेको छ । 

चौलागाईंका अनुसार साबिक विराटनगरका वडामध्ये १९ नम्बर वडा पुरानो झापा बैजनाथपुर गाविसबाट गाभिएको थियो । त्यस वडाबाहेक संस्थानको पाइप सबैमा छ । विराटनगर महानगरपालिकामा खानेपानी सुधार आयोजनाका लागि जाइकाले दुई अर्ब सात करोडको अनुदान सहयोग उपलब्ध गराउने निर्णय गरिसकेको छ । 

यसै गरी मानगढ खानेपानी उपभोक्ता समिति, बखरी खानेपानी उपभोक्ता समिति र जामुनगाछी खानेपानी उपभोक्ता समितिमार्फत विराटनगरमा पानी आपूर्ति हुँदै आएको छ । महानगरपालिकाको खानेपानी शाखाको तथ्याङ्क अनुसार मानगढ खानेपानी उपभोक्ता समितिले छ हजार घरधुरीमा धारामार्फत शुद्ध पानी उपलब्ध गराउँदै आएको छ । यसै गरी जामुनगाछी खानेपानी उपभोक्ता समितिमार्फत वडा नं. ४ र ५ मा नौ सय घरधुरीले खानेपानीको धारा जडान गरेको जामुनगाछी समितिका महासचिव देवचन्द्र घिमिरेले जानकारी दिनुभयो । बखरी खानेपानी उपभोक्ता समितिमार्फत ६३८ घरधुरीमा धारा जडान भएको छ । 

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगर खानेपानी सुधार आयोजनाका लागि जाइकाको अनुदान सहयोगमा परियोजनामार्फत शुद्ध पिउने पानीको पहुँच नगरवासीमा बढाउने लक्ष्य रहेको बताउनुभयो । उहाँले निजी स्तरबाट समेत लगानी प्रोत्साहन बढाएर शुद्ध पानी वितरणका लागि पहल भइरहेको जानकारी दिनुभयो ।