अर्जुन काफ्ले
स्याङ्जा, माघ ११ गते । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका जिल्लामै उत्कृष्ट बनेको छ । गाउँपालिकाले स्वमूल्याङ्कनमा ९४ प्रतिशत अङ्क प्राप्त गर्दै पहिलो बनेको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष् शर्मा आर्थिक वर्ष २०७९-२०८० को कार्यसम्पादन स्वमूल्याङ्कनमा स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका जिल्लामै उत्कृष्ट भएको बताउनुभयो । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा अहिलेसम्म स्याङ्जा जिल्लाको अर्जुनचौपारी सहित नौ स्थानिय तहको नतिजा सार्वजनिक भएको हो ।
गाउँपालिकाले सङ्गठन तथा प्रशासन ,वित्तीय तथा आर्थिक व्यवस्थापन , सार्वजनिक सेवा प्रवाहमा , न्यायिक कार्यसम्पादन ,सामाजिक समावेशीकरण र सहकार्य तथा समन्वयमा शत प्रतिशत अङ्क ल्याउन सफल भएको छ । यस्तै शासकीय प्रबन्धमा ९४.४४ %, आर्थिक बजेट तथा योजना व्यवस्थापन मा ८६.३६ % ,भौतिक पूर्वाधार मा ८०.७७ % र
वातावरण तथा विपत् व्यवस्थापन ८३. ३३ % अङ्क ल्याउन सफल भएको हो । हरेक पालिकाले माघको पहिलो साताभित्र नतिजा सार्वजनिक गरिसक्नुपर्ने प्रावधान छ । चापाकोट नगरपालिका र हरिनास गाउँपालिका बाहेक सबै स्थानीय तह को नतिजा सार्वजनिक भएको मध्ये अर्जुनचौपारी गाउँपालिका अघि देखिएको हो ।
सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हरेक वर्ष स्थानीय तहहरूको कार्य सम्पादन मूल्याङ्कन गर्ने गरेको छ । सोही मूल्याङ्कनका आधारमा स्थानीय तहले बजेट पाउने गरेका छन् ।