• १४ मंसिर २०८१, शुक्रबार

क्षमताभन्दा बढीको उपचार दिँदै अस्पताल

blog

बुटवल समाचारदाता

बुटवल, माघ ११ गते । दैनिक पाँच सय बिरामी जाँचको क्षमता भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले त्यसको चार गुणाभन्दा बढीलाई सेवा दिइरहेको छ । लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट सो अस्पतालमा उपचारका लागि सेवाग्राही आउने गरेका छन् ।

विसं १९६७ सालमा स्थापना भएको सो अस्पतालले अहिले विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुदर्शन थापाका अनुसार अस्पतालले सामान्य चिकित्सा, शल्यक्रिया, बालचिकित्सा, कार्डियोलोजी, न्युरोलोजी, न्युरो सर्जरी, मनोरोग, अर्थोपेडिक शल्यक्रिया (फिजियोथेरापी सेवासहित), नाक र घाँटी शल्यक्रिया, प्रसूति र स्त्रीरोग र दन्त तथा छालाका लागि ओपिडी सेवा प्रदान गरिरहेको छ । उहाँका अनुसार अस्पतालले प्रयोगशाला, रेडियोलोजी, इसिजी, इन्डोस्कोपीलगायतका सेवासमेत प्रदान गर्दै आएको छ । 

अस्पतालका प्रवक्ता डा. नेत्र रानाले अस्पतालले नियमित रूपमा खोप, पोषण, सुरक्षित मातृत्व, परिवार नियोजन सेवा, क्षयरोग नियन्त्रण कार्यक्रमलगायत डट्स, कुष्ठरोग नियन्त्रण कार्यक्रम र मलेरिया नियन्त्रण कार्यक्रमको सेवासमेत उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो । अस्पतालले लुम्बिनी प्रदेशका साथै गण्डकी प्रदेशका बिरामीको चापसमेत थेग्नु परेको बताइन्छ । प्रवक्ता डा. थापाका अनुसार स्याङ्जा, बागलुङ, पर्वत र पूर्वी नवलपुरका बिरामीसमेत लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका लागि आउने गरेका छन् ।

पछिल्लो समय अस्पतालमा प्रसूति सेवा लिन आउने बिरामीको सङ्ख्यासमेत वृद्धि भएको छ । अस्पतालका अनुसार एक वर्षको बिचमा करिब ५५ हजारले प्रसूतिको सेवा पाएका छन् । अस्पतालले गर्भवतीको नियमित स्वास्थ्य जाँचको सेवा उपलब्ध गराउनुका साथै निःशुल्क प्रसूति सेवा दिँदै आएको छ । अस्पतालले मुटु बिरामीका लागि विशेषज्ञ सेवा दिन सुरु गरेको छ । अस्पतालको क्षमता अनुसार उपचारका लागि आउने बिरामीको सङ्ख्या बढी हुँदा उपचारमा समस्या देखिएको अस्पतालको भनाइ छ ।