• १३ साउन २०८१, आइतबार

तल्लो अरुणलाई जग्गा अधिग्रहण गरिँदै

blog

ध्यान कुलुङ 

सङ्खुवासभा, माघ ११ गते । जिल्लामा निर्माण हुने ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् परियोजनालाई चाहिने जग्गा अधिग्रहण प्रव्रिmया सुरु गरिएको छ ।  अरुण तेस्रो जलविद्युत् परियोजना निर्माण गरिरहेको सतलज जलविद्युत् निगमले नै उत्पादन गर्न लागेको यस परियोजनालाई ६५ हेक्टर जग्गा आवश्यकपर्ने बताइएको छ । परियोजनाका लागि आवश्यक जग्गा यकिन गरी सार्वजनिक सूचना प्रकाशित गरिएको मुआब्जा निर्धारण समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिनुभयो । परियोजना सञ्चालक तथा मुआब्जा निर्धारण समितिको अध्ययनपछि दुई पालिकाभित्र रहेको ५६५ कित्ता जग्गा अधिग्रहणका लागि सूचना प्रकाशित गरिएको उहाँले जानकारी दिनुभयो । 

सूचनामा प्रकाशित विवरण अनुसार सम्बन्धित जग्गाधनीले एक हप्ताभित्र समितिमा दाबी विरोध पेस गर्नुपर्ने छ । जग्गाधनीले मुआब्जा निर्धारण समितिमा कुनै विरोध वा उजरी दर्ता नगराए तत्कालै अधिग्रहणको प्रक्रिया सुरु गरिने प्रजिअ कार्कीले जानकारी दिनुभयो । अधिग्रहणको लागि यकिन गरिएको जग्गा मालपोत कार्यालयमार्फत रोक्का गरिने भएको हुँदा कुनै पनि संरचना निर्माण नगर्न तथा रुख बिरुवा नरोप्न सूचना जारी गरिएको छ ।

यसपछि मुआब्जा निर्धारण समितिले जग्गाको मूल्य निर्धारण गर्ने छ । अधिग्रहण गरिने जग्गाको मुआब्जा दर निर्धारण गर्न केही आधार रहेको सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले जानकारी दिनुभयो । जग्गाको पछिल्लो मूल्य शृङ्खला, जग्गाको उपभोग, उत्पादन, उत्पादकत्व, अवस्थिति, सडकको पहुँच र जग्गाको प्रकृतिलाई हेरेर मूल्य निर्धारण हुने सहायक प्रजिअ घिमिरेले जानकारी दिनुभयो । सडक छेवैको घडेरी जग्गाको मूल्य सबैभन्दा बढी हुने, अलैँची, रुद्राक्ष उत्पादन हुने जग्गाको मध्यम र पाखोबारीको मूल्य सबैभन्दा न्यून हुने उहाँले बताउनुभयो । 

हाल निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाले प्रतिरोपनी न्यूनतम आठ लाख ७५ हजारदेखि ११ लाख ७५ हजार रुपियाँसम्म मुआब्जा दिएको छ । यस परियोजनाका लागि आवश्यक जग्गा अधिग्रहण दुईदेखि तीन महिनाभित्रमा सम्पन्न हुने गरी काम गरिने आयोजना प्रवर्धक सतलज जलविद्युत् निगमका प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले जानकारी दिनुभयो । 

जग्गा अधिग्रहणलगत्तै निर्माण कार्यका लागि ठेक्का लगाइने र ठेक्का लागेको सात वर्षभित्र परियोजना सम्पन्न गर्ने तयारी रहेको धिमानले बताउनुभयो । परियोजनाको बाँध चिचिला गाउँपालिका–२ मा रहने छ भने विद्युत्गृह खाँदबारी नगरपालिका–२ को चेवा बेँसीमा निर्माण गरिने छ । आयोजनाको लागत ९२ अर्ब ६८ करोड रुपियाँ अनुमान गरिएको छ ।