• १२ असार २०८१, बुधबार

चिसोबाट बच्न स्थानीय तहले गर्‍यो दाउराको प्रबन्ध

blog

गरुडा चोकमा आगो ताप्दै सर्वसाधारणसहित सुरक्षाकर्मी । तस्बिर : यादवराज पुरी

यादवराज पुरी
रौतहट, माघ १० गते । 
शीतलहर बढेसँगै चिसोबाट बच्न रौतहटको नौ वटा स्थानीय तहले आ–आफ्नो पालिकामा दाउराको प्रबन्ध गरी आगो ताप्ने व्यवस्था मिलाएका छन् । 

अत्यधिक चिसो बढेर जनजीवन कष्टकर बनेपछि रौतहटको एक गाउँपालिका र आठ वटा नगरपालिकाले दाउराको प्रबन्ध गरी आगो ताप्ने व्यवस्था मिलाएका हुन् ।

१६ वटा नगरपालिका र दुई वटा गाउँपालिका गरी १८ स्थानीय तह रहेको रौतहटमा हालसम्म नौ वटा पालिकाले मात्र दाउराको प्रबन्ध गरी चोक–चोकमा आगो बालेर सर्वसाधारणलाई न्यानो बनाउने काम गरेको छ ।

अन्य पालिकाले पनि दाउराका लागि आवेदन गरेको डिभिजन वन कार्यालयका रौतहटका सूचना अधिकारी विमल ठाकुरले जानकारी दिनुभयो ।

उहाँकाअनुसार यमुनामाई गाउँपालिकासहित हालसम्म गौर, ईशनाथ, परोहा, राजपुर, राजदेवी, गरुडा र देवाहीगोनाही नगरपालिकाले जिल्ला वन पैदावार आपूर्ति समितिबाट करिब ३० चट्टा दाउरा खरिद गरी लगेका छन् । ती पालिकाले तोकिएको सरकारी दस्तुर भुक्तान गरी दाउरा लगेका हुन् ।

आपूर्ति समितिले सालका दाउरा प्रति चट्टा २८ हजार आठ सय र अन्य जातका दाउरा प्रति चट्टा २३ हजार पाँच सय रुपियाँमा बिक्री गर्दै आएको छ ।

पश्चिमी वायु चलेर शीतलहरको प्रकोप बढेपछि पालिकाले चोक–चोकमा दाउराको प्रबन्ध मिलाई आगो बाल्नाले जाडोबाट अत्यधिक प्रभावित बनेका गरिब तथा विपन्न वर्ग खुसी भएका छन् । खासगरी बालबालिका तथा वृद्धवृद्धा विशेष खुसी देखिन्थे ।

जाडोले गर्दा चहलपहल नै घटेका कारण चोक तथा बजारमा दाउरा बाल्ने व्यवस्था मिलाएको गौर नगरपालिकाका प्रमुख शम्भु साहले बताउनुभयो । डिटीमा खटेका सुरक्षाकर्मी समेत यसबाट लाभान्वित बनेका छन् ।