• १३ साउन २०८१, आइतबार

कपुरकोट उत्कृष्ट

blog

सल्यान समाचारदाता

सल्यान, माघ  १० गते । कर्णाली प्रदेशको कार्यसम्पादन मूल्याङ्कनमा कपुरकोट गाउँपालिका प्रथम भएको छ । स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन र स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा कपुरकोट गाउँपालिका कर्णाली प्रदेशमा प्रथम र नेपालमै दोस्रो भएको छ ।

आर्थिक वर्ष २०७९/८० को कार्यसम्पादनका आधारमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अहिलेसम्म सार्वजनिक गरेको नतिजामा योजना बजेट तथा कार्यक्रम व्यवस्थापनमा २१, कार्यान्वयन क्षमता तथा व्यवस्थापन २७.५, लेखाङ्कन तथा प्रतिवेदनमा १७, अनुगमन मूल्याङ्कन तथा लेखा परीक्षणमा १६ र राजस्व व्यवस्थापनमा १५.५ अङ्क प्राप्त गरेको बताइन्छ । कपुरकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भरतकुमार वलीले संस्थागत क्षमता स्वमूल्याङ्कन र स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा पहिलो भएको खुसी व्यक्त गर्नुभयो । उहाँले कर्मचारी, जनप्रतिनिधि, राजनीतिक दल, टोल विकास संस्था तथा समुदायको सक्रियताले पालिकाले सफलता प्राप्त गरेको बताउनुभयो । सो मूल्याङ्कनमा कर्णालीको दैलेख भगवतीमाई गाउँपालिका ९५ र कालीकोट महाबु गाउँपालिकाले ९१.५ अङ्क ल्याएर उत्कृष्ट बनेका हुन् ।