• १३ साउन २०८१, आइतबार

भाषणमा सीमित राउटे संरक्षण नीति

blog

रजनी योगी

सुर्खेत, माघ १० गते । लोपोन्मुख राउटे समुदायलाई राज्यको मूलप्रवाहमा ल्याउन कर्णाली प्रदेश सरकारले एकीकृत नीति ल्याउने घोषणा गरेको दुई वर्ष बित्दा पनि त्यसको कुनै प्रक्रिया अघि बढेको छैन । तत्कालीन सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले २०७८ साल असार ७ गते सरोकारवाला र विज्ञसँग छलफल गरी राउटे संरक्षणका लागि तत्कालै नीति बनाइने बताउनुभएको थियो । त्यसका लागि मन्त्रालयले सरोकारवाला पक्षका सुझाव पनि लिइएको थियो । तथापि उक्त नीति निर्माणको कामले पूर्णता पाउन सकेको छैन ।

गैरराउटे समुदायबाट राउटेमाथि सुरक्षा खतरा बढेका समाचार सार्वजनिक भएपछि उनीहरूको कला, संस्कृति र मौलिकता जोगाउँदै सामाजिकीकरण गर्ने र सुरक्षाको प्रत्याभूति दिलाउन एकीकृत नीति बनाइने सरकारले जनाएको थियो । नीतिको मस्यादौसमेत बनिसकेको अवस्थामा अन्य प्रक्रिया अघि बढेका छैनन् । मन्त्रालयका महिला विकास अधिकृत अनिता ज्ञवालीले डेढ वर्षपहिले निर्माण भएको राउटे संरक्षण नीतिको मस्यौदा मन्त्रालयमै थन्किएको बताउनुभयो । मस्यौदामाथि विभिन्न समयमा छलफल भइरहे पनि अहिलेसम्म नीति बन्न सकेको छैन । राउटेलाई स्थायी बसोबास गराउने, नागरिकताको प्रमाणपत्र प्रदान गर्ने, उनीहरूको भाषालाई लिपिबद्ध गर्दै संस्कृति संरक्षण गर्नेलगायतका विषय नीतिको मस्यौदामा समेटिएका छन् । फिरन्ते जीवन बिताइरहेका राउटेलाई स्थायी बसोबासदेखि नागरिकता प्रदान गर्ने योजनासहितको नीतिको मस्यौदा अन्तिम रूप नदिएर दुई वर्षदेखि थन्क्याइएको छ ।

घट्दै राउटे 

लोपोन्मुख राउटे समुदायकी १२ वर्षीय बालिका दुर्गा शाहीको गत बिहीबार निधन भयो । लामो समयदेखि उहाँ बिरामी पर्नुभएको थियो । पछिल्लो पटक राउटे बस्ती बसेको दैलेखको भैरवी गाउँपालिका–४, गडाज्यूलामा उहाँको निधन भएको हो । राउटे बस्तीमा कार्यरत शिक्षक लालबहादुर खत्रीका अनुसार दुर्गाको निधनपछि राउटे समुदायको बस्ती भैरवी गाउँपालिकाकै वडा नं. ३ मा सरेको छ । परिवारका सदस्यको निधन भए राउटे समुदायले बस्ती नै सार्ने चलन छ । दुर्गाको निधनपछि राउटे समुदायको जनसङ्ख्या १३७ मा झरेको छ । जेठसम्म राउटेको जनसङ्ख्या १४२ थियो । गत जेठ २३ गते समुदायका ज्येष्ठ सदस्य कर्णबहादुर शाहीको ९१ वर्षको उमेरमा निधन भएको थियो । त्यसपछि शान्ति शाही, तुलसी शाही, महिनबहादुर शाही, सिमल शाही, भद्रबहादुर शाही, पाँचमहिने शिशु बालकुमारी शाही, एकमहिने शिशु भैरव शाहीको निधन भएको शिक्षक खत्रीले जानकारी दिनुभयो । यो अवधिमा समुदायमा नौ जनाको निधन भएकामा तीन बालिका र एक बालकको गरी चार जनाको जन्म भएको छ । नयाँ जन्मिएका शिशुको सङ्ख्या थपिएसँगै अहिले समुदायको सङ्ख्या १३७ मा कायम भएको हो । अत्यधिक मदिरा सेवन, कुपोषण र चिसोलगायतका कारण यो समुदाय उच्च जोखिममा रहेको छ । समुदायमा अत्यधिक मदिरा सेवनका कारण ज्यान गुमाउनेको सङ्ख्या पनि उच्च छ । हाल चिसो बढेसँगै राउटे समुदायमा स्वास्थ्य समस्या पनि बढ्दै गएको राउटे परियोजनाकी स्वास्थ्यकर्मी अनुजा पन्तले बताउनुभयो । काठ र कपडाको पालमुनि चिसो भुइँमा रात बिताउने यो समुदायका महिला, बालबालिका र वृद्धवृद्धामा समस्या देखिएको उहाँको भनाइ छ । 

सशक्तीकरणमा जोड

प्रदेशको सामाजिक विकास मन्त्रालयले चालु आर्थिक वर्षमा राउटे समुदायको सशक्तीकरणका लागि सचेतनाका कार्यक्रम सञ्चालन गर्ने भएको छ । त्यसका लागि मन्त्रालयले आठ लाख बजेट विनियोजन गरेको छ । शिक्षा स्वास्थ्यलगायतका क्षेत्रमा सचेतना फैलाउनका लागि कार्यक्रम सञ्चालन गरिने मन्त्रालयले जानकारी दिएको छ । यस्तै सङ्घीय सरकारले राउटे समुदायलाई मासिक प्रतिव्यक्ति चार हजारका दरले भत्ता उपलब्ध गराउँदै आएको छ ।