• १३ साउन २०८१, आइतबार

चौध महिनाअगावै पुल

blog

धनगढी समाचारदाता

धनगढी, माघ १० गते । यो मुलुकमा पुलपुलेसा, सडकलगायत विकास निर्माणका काम तोकिएको समयावधि वा म्याद थप गर्दा पनि नबनेको थुप्रै उदाहरण छन् तर कैलालीमा भने पुलको निर्माण कार्य तोकिएको समयावधिभन्दा १४ महिनाअगाडि नै पूरा भएको छ । 

बर्दगोरिया गाउँपालिका–३ स्थित सेती लोकमार्गमा पर्ने काँडा खोला पुल तोकिएको समयावधिभन्दा अगाडि बनेको हो । दुई स्पानको सो पुलको लम्बाइ ८५ मिटर रहेको छ । 

२०७९ साल असार २९ गते काँडा खोला पुल निर्माणको ठेक्का सम्झौता भएको थियो । २०८१ चैत १३ गतेभित्र काम पूरा गर्ने गरी एएनके कन्स्ट्रक्सन कम्पनी प्रालि काठमाडौँले ठेक्का पाएको हो ।

सो कम्पनीले माघ पहिलो साता नै पुल निर्माणको काम सम्पन्न गरेर जनप्रतिनिधि र जनताबाट वाहवाही पाएको छ । गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले माघ ४ गते भव्य समारोहकाबिच पुलको उद्घाटन गर्नुभयो । पुल बनाउने ठेकेदार मेहनती र काममा लगनशील भएकाले तोकिएको समयावधिभन्दा निकै अगाडि नै पुल निर्माण भएको वडा अध्यक्ष मनऋषि आचार्यले बताउनुभयो । 

“यही पुलसँगै ठेक्का भएको कुहिरा नदी पुलको निर्माण कार्य भर्खरै सुरु भएको छ,” वडाध्यक्ष आचार्यले भन्नुभयो, “ काँडा नदीको पुल बनाउने ठेकेदार राम्रो भएकाले हामीले अपेक्षा गरेकोभन्दा अगाडि नै काम सम्पन्न गरेका छन् ।”