• ७ पुस २०८१, आइतबार

मूर्तिसँग मानार्थ प्राध्यापक उपाधि साटफेर

blog

काठमाडौँ, माघ १० गते । प्राध्यापक पद उच्च प्राज्ञिक र अति सम्मानित हो तर नेपालका विश्वविद्यालयले त्यही पदलाई मानार्थ बनाएर सरस्वतीको मूर्तिसँग साट्ने गरेको पाइएको छ । तथाकथित ‘माननीय विशिष्ट समाजसेवी’ जगदीश वैद्यले मुलुकका विश्वविद्यालयलाई सरस्वतीको मूर्ति दिने र बदलामा मानार्थ प्राध्यापकको उपाधि लिने गरेको तथ्य सार्वजनिक भएको छ । 

नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालयलगायतबाट मानार्थ प्राध्यापकको उपाधि लिन सफल वैद्यले अन्य विश्वविद्यालयसँग पनि त्यसका लागि निकै प्रयास गरिरहेको थाहा भएको छ । नेपाल संस्कृत विश्वविद्यालयका तत्कालीन उपकुलपति प्राडा कुलप्रसाद कोइरालाले गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा मन्त्रीपरिषद्ले ‘राष्ट्रिय समाजसेवी उपाधि’ दिएको कागजातका आधारमा आफूहरूले वैद्यलाई मानार्थ समाजसेवी प्राध्यापकको उपाधि प्रदान गरेको बताउनुभयो तर त्यो कागज नै फर्जी थियो । 

“वैद्यले धेरै देशबाट समाजसेवी सम्मान पाएको कागजात पेस गर्नुभएको थियो । प्लेन चढ्दा भाडा नलाग्ने कागजात पनि पेस गर्नुभएको थियो । हामीलाई ती कागजात आवश्यक परेन तर मन्त्रीपरिषद्ले नै गरेको निर्णयका आधारमा मानार्थ समाजसेवी प्राध्यापकको उपाधि दिएका थियौँ,” उहाँले थप्नुभयो, “उहाँले सरस्वतीको मन्दिर बनाइदिन्छु भन्नुभयो । मूर्ति पनि ल्याउनुभयो तर मन्दिर बन्न सकेन । मूर्ति दिएबापत मानार्थ समाजसेवी प्राध्यापकको उपाधि दियौँ । सभाबाट नै अनुमोदन गराएर उपाधि दिएका हौँ ।”

नेसंविले दिएको सोही उपाधि अरू विश्वविद्यालयलाई पनि वैद्यलाई मानार्थ प्राध्यापक दिन बाटो खुल्ने बन्यो । वैद्यले सुदूरपश्चिम विश्वविद्यालयमा गएर त्यही देखाएर सुदूरपश्चिमाञ्चल विश्वविद्यालयबाट पनि मानार्थ उपाधि माग गरेकै आधारमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका तत्कालीन उपकुलपति प्राडा भूषण श्रेष्ठले उपाधि दिनुभयो । नेसंवि पोखरालगायतका विश्वविद्यालयबाट मानार्थ प्राध्यापकको उपाधि प्राप्त गरेको कागजात आफूहरूलाई देखाएकाले नै आफूले उपाधि दिएको तत्कालीन उपकुलपति श्रेष्ठले बताउनुभयो ।

“ती विश्वविद्यालयले पनि मानार्थ प्राध्यापक उपाधि दिएका थिए, त्यसैलाई आधार बनायौँ,” उहाँले भन्नुभयो, “हाम्रो विश्वविद्यालयलाई सरस्वतीको मूर्ति दिनुभयो । मूर्ति दिएपछि हामीले पनि कार्यकारी परिषद्बाट मानार्थ प्राध्यापकको उपाधि दिने निर्णय गरेका थियौँ ।” तर त्यसको गुन वैद्यले पनि तिरेको देखिएको छ । वैद्यको संस्था जेभी फाउन्डेसनको फेसबुक पेजमा डा. श्रेष्ठलाई सल्लाहकार नियुक्त गरेको उल्लेख छ । तत्कालीन उपकुलपति श्रेष्ठले पछि वैद्यप्रति शङ्का लागेको बताउँदै सल्लाहकारमा नियुक्त गरे पनि आफू त्यसपछि कहिल्यै पनि सम्पर्कमा नरहेको दाबी गर्नुभयो । 

वैद्यले त्रिभुवन विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयलाई पनि सरस्वतीको मूर्ति उपहार दिएको पत्ता लागेको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयका बौद्ध अध्ययन सङ्कायका डिन डा. माणिकरत्न शाक्यले पाँच वर्षअघि वैद्य आफूहरूकहाँ आएको सुनाउँदै भन्नुभयो, “हामीलाई सरस्वतीको मूर्ति दान दिनुभयो । त्यसपछि मानार्थ प्राध्यापक वा डाक्टरमध्ये कुनै एक उपाधि दिनुहोस् भन्नुभयो । हामीले कानुनतः त्यस्तो दिन मिल्दैन भन्ने जवाफ दियौँ । उहाँले समाजसेवा गर्नुभएकाले सल्लाहकारमा नियुक्त गर्‍यौँ । सल्लाहकार भए पनि उहाँ सल्लाह दिन सक्ने हुनुहुन्न ।” शिक्षाविद् प्राडा मनप्रसाद वाग्लेले मानार्थ विद्यावारिधि दिने चलन भए पनि मानार्थ प्राध्यापकको उपाधि दिने चलन नभएको बताउनुभयो ।

पोखरा विश्वविद्यालयका प्राध्यापक डा. माधवप्रसाद कोइरालाले त्यस्तो उपाधि वैद्य वा अन्य कसैलाई दिएको आफूलाई थाहा नभएको बताउनुभयो । “पोखरा विश्वविद्यालयले त्यस्तो उपाधि दिने गरेको छैन । हाम्रो विश्वविद्यालयबाट त्यस्तो उपाधि दिएको कागजात छ भने त्यो नक्कली हुनु पर्छ,” उहाँले भन्नुभयो, “विश्वमा भिजिटिङ प्रोफेसर वा मानार्थ विद्यावारिधिको उपाधि दिने चलन हुन्छ तर प्राध्यापक मानार्थ दिइँदैन । यो त अनौठो पो सुनियो ।”