• १३ साउन २०८१, आइतबार

‘पूर्ण खोप सुनिश्चित गर्न परिणाममुखी तथा गुणस्तरीय सेवामा सक्रिय हुनुपर्ने’

blog

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत । फाइल तस्बिर

काठमाडौँ, माघ ९ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले पूर्ण खोप सुनिश्चित गर्न परिणाममुखी तथा गुणस्तरीय सेवामा सक्रिय हुनुपर्नेमा जोड दिनुभएको छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाद्वारा आयोजित ‘राष्ट्रिय दादुरा-रुबेला खोप अभियान २०८०/८१ सम्बन्धी उच्चस्तरीय बैठक’ मा मन्त्री बस्नेतले सन् २०२६ मा पूर्ण खोप सुनिश्चित गर्ने लक्ष्यलाई हासिल गर्न सम्बन्धित निकाय दृढ इच्छाशक्तिसहित उपलब्धिमूलक काममा सक्रिय हुन आवश्यक रहेकोमा जोड दिनुभयो । 

नेपाल सरकारको उच्च प्रथामिकतामा सञ्चालित खोप कार्यक्रमको वर्तमान अवस्थाप्रति उहाँले असन्तुष्टि जनाउँदै कामलाई सुधार गर्न जरुरी रहेको बताउनुभयो । “हाल ५२ प्रतिशत मात्रै पूर्ण खोप सुनिश्चितता भएका अवस्थामा यति गतिमा जाँदा सन् २०२६ मा लक्ष्य हासिल गर्न गाह्रो छ”, मन्त्री बस्नेतले भन्नुभयो, “परिणाममुखी काममा मन्त्रालय सहजीकरणका लागि तयार छ” । 

खोप सेवाले बालबालिकाको रोगदर, मृत्युदर र अपाङ्गताको दरमा कमी ल्याउने भन्दै उहाँले सरकार स्वास्थ्य सुधारप्रति गम्भीर र जिम्मेवारी रहेको बताउनुभयो । मन्त्रालयका सचिव डा.रोशन पोखरेलले यसका लागि तीन वटै तहबिच समन्वयन हुन नसकेको भन्दै आगामी दिनमा यसमा सुधार आवश्यक रहेको बताउनुभयो । 

राष्ट्रिय योजना आयोगका सदस्य आरपि विच्छाले १६ औँ पञ्चवर्षीय योजनामा खोपमा कसरी आत्मनिर्भर बन्ने सम्बन्धमा योजना समेटिएका बताउनुभयो । उहाँले खोप कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । “आवश्यक खोप मुलुकभित्रै उत्पादन गर्नुको विकल्प छैन । सङ्कटको समयमा प्रणालीलाई सुदृढ बनाइ सबल बनाउनुपर्छ । मितव्ययिता अपनाएमा लक्ष्य प्राप्त गर्न कठिनाइ छैन तथ्याङ्क र अभ्यासमा एकरूपता हुनुपर्छ”, उहाँले भन्नुभयो । 

महाशाखाका निर्देशक डा.विवेककुमार लालले हालसम्म ७२ जिल्ला र सात सय ३३ स्थानीय तह पूर्णखोप घोषणा भइसकेको जानकारी दिँदै सङ्ख्यामा मात्र नभई गुणस्तरीयता कायम गर्न जरुरी रहेको बताउनुभयो । महाशाखाले चार÷पाँच वर्षको अन्तरालमा खोप अभियान सञ्चालन गर्दै आएको छ । खोप अभियान प्रभावकारी रहेको आयोजकले जनाएको छ । नेपालमा वि.सं.२०३४ मा विस्तारित खोप आयोजनाको रूपमा प्रारम्भ भएको खोप कार्यक्रम हाल राष्ट्रिय खोप कार्यक्रमको रूपमा विस्तार भई नेपाल सरकारको उच्च प्रथामिकतामा सञ्चालित छ । रासस