• ७ जेठ २०८१, सोमबार

जनसङ्ख्याको क्षेत्रमा स्वास्थ्य मन्त्रालयले काम गरेन : सांसद पाण्डे

blog

सत्तारुढ दल नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डे ।

काठमाडौं, माघ ८ गते । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनसङ्ख्याको क्षेत्रमा काम गर्न नसकेको बताउनुभएको छ । सोमबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले जनसङ्ख्याको क्षेत्रमा काम गर्नका लागि छुट्टै विभाग आवश्यक भएको हो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले सबैतिर स्वास्थ्य भन्दै गर्दा जनसङ्ख्या सम्पूर्ण हिसाबले छुटेको बताउनुभयो ।

जनसङ्ख्या छुट्ने कुरा गम्भीर रहेको र जनसङ्ख्यासम्बन्धीका केही तथ्याङ्कहरू डरलाग्दो रहेको बताउनुभयो । उहाँले १५ प्रतिशतभन्दा बढी भूगोल भएको हिमालमा अहिले ६ प्रतिशत जनसङ्ख्या हुनु र २३ प्रतिशत भूभाग भएको तराईमा ५३ प्रतिशत बढी हुनुले असन्तुलन बिग्रिन सक्ने बताउनुभयो ।

‘‘जनसङ्ख्या महाशाखाले काम गरिरहेको जस्तो लागेको छैन । छुट्टै विभाग चाहिने पो हो की ? अथवा तथ्याङ्क तथा जनसङ्ख्या विभाग चाहिने हो की । जनसङ्ख्याको काम स्वास्थ्यमा भएकै छैन । सबैतिर स्वास्थ्य भन्दै गर्दा जनसङ्ख्या सम्पूर्ण हिसाबले छुटेको छ । जनसङ्ख्या छुट्ने कुरा गम्भीर हो । केही तथ्याङ्क डरलाग्दा छन् । १५ प्रतिशत भन्दा बढी भूगोल भएको हिमालमा अहिले ६ प्रतिशत जनसङ्ख्या छ ।,’’  सांसद पाण्डेले भन्नुभयो, ‘‘२३ प्रतिशत भूभाग भएको तराईमा ५३ प्रतिशत बढी छ । त्यो असन्तुलन छ । जनसाङ्ख्यिक लाभांश लिने कुरालाई राज्यले कुन रणनीतिका साथ उपयोग गर्छ यसमा गम्भीरताका साथ लिनुपर्छ ।’’

सांसद पाण्डेले जनसाङ्ख्यिक लाभांश लिने कुरालाई राज्यले गम्भीरताका साथ लिनुपर्ने बताउनुभयो ।