• ३ असार २०८१, सोमबार

स्वास्थ्य क्षेत्रका समस्या प्याकेजमा सम्बोधन गर्नुपर्छ : प्रधानमन्त्री

blog

नर्सिङ क्षेत्रका समस्या सम्बोधन गर्नेबारे भएको उच्चस्तरीय छलफलमा बोल्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं, माघ ८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिकित्सा शिक्षा र नर्सिङ क्षेत्रका समस्याहरू प्याकेजमै सम्बोधन गर्नुपर्ने बताउनुभएको छ । सोमबार दिउँसो प्रधानमन्त्रीको कार्यकक्ष सिंहदरबारमा नर्सिङ क्षेत्रका समस्या सम्बोधन गर्नेबारे भएको उच्चस्तरीय छलफलमा प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो ।

छलफलमा प्रधानमन्त्रीले भन्नुभयो, “नर्सिङ शिक्षाको कुरा गरिरहँदा नर्सिङ र सिटिइभिटीको क्षेत्राधिकार बाझिने गरेको परिस्थिति पनि छ । त्यसलाई हामीले क्लियर गरेर जानुपर्छ ।” चिकित्सा शिक्षा र नर्सिङ क्षेत्रका समस्या सम्बोधनका निम्ति छिटै चिकित्सा शिक्षा आयोगको बैठक बसिने प्रधानमन्त्रीले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, “चिकित्सा शिक्षा आयोगको बैठक हामी छिटै बस्छौँ । स्वास्थ्य क्षेत्रका समस्या के हुन्, नर्सिङ क्षेत्रका समस्या के हुन्, त्यसबारे बृहत् छलफलमार्फत एउटा निष्कर्षमा पुग्नुपर्छ । आयोगको बैठक बसेर हामी अध्ययन समिति नै बनाएर त्यसबारे व्यवस्थित काम गरौँ । त्यसका राष्ट्रिय योजना आयोगलाई पनि समावेश गरेर जाऊँ ।”


“ऐनका समस्या ऐन संशोधनको प्रक्रियाबाट नै सम्बोधन गर्नुपर्छ । तर ऐनले जति कुराको बाटो खोलिदिएको छ, त्यसको सम्बोधनका लागि हामीले नै तत्परता देखाउनुपर्छ ।,” प्रधानमन्त्रीले भन्नुभयो, “ऐनमा भएको व्यवस्था लागू गर्न हामी चुक्नु भएन । अहिले भएको साधनस्रोतका आधारमा गर्नसकिने कामहरू कार्यतालिका बनाएर गरौँ ।”

बैठकमा प्रधानमन्त्रीसँगै उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्याल, प्रधानमन्त्री कार्यालयका सचिवहरू, शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारी, नर्सिङ काउन्सिलका रजिष्टार शुक्ला खनाल लगायत उपस्थित हुनुहुन्थ्यो ।