• १३ साउन २०८१, आइतबार

अयोध्यामा धूमधाम रामको प्राणप्रतिष्ठा

संरक्षणविना जीर्ण लवकुश जन्मेको वाल्मीकि आश्रम

blog

जीर्ण अवस्थामा रहेको वाल्मीकि आश्रमको अमृत कुवा । तस्बिर– मिना कँडेल

मीना कँडेल

कावासोेती, माघ ८ गते ।  माघ ८ अर्थात् जनवरी २२ सोमबारका दिन भारत अयोध्यामा नवनिर्मित भगवान् राम मन्दिरको प्राणप्रतिष्ठा गरिएको छ । नेपालका मठ मन्दिरमा दीपावली गरी उत्सवको रूपमा मनाइएको छ । तर भगवान् रामसँग जोडिएको ऐतिहासिक तथा पौराणिक क्षेत्र वाल्मीकि आश्रम यतिबेला ओझेलमा छ । 

वाल्मीकि ऋषिले तपस्या गरेको लवकुशको जन्म भएको सीता भासिएको स्थान वाल्मीकि आश्रम अहिले संरक्षण अभावमा ओझेलमा परेको हो ।   रामनवमीमा विशेष चहलपहल हुने वाल्मीकि आश्रममा रहेका पुरातात्त्विक सामग्री सुरक्षित नहुँदा कतै वाल्मीकि आश्रम नै हराउने हो कि भन्ने चिन्ता स्थानीयवासीको छ । 


धार्मिक र पर्यटकीय क्षेत्रको ठुलो सम्भावना बोकेको स्थल भए पनि प्रचारप्रसार अभावका कारण यो क्षेत्र ओझेलमा परेको विगत १५ वर्षदेखि मन्दिरको रेखदेख गर्दै आउनुभएका शेखर सुवेदीले बताउनुभयो । संरक्षणको अभावमा सीता कुवामा पातपतिङ्गर झरेका छन् । चौरासी हजार ऋषिमुनिले यज्ञ गरेको मण्डप, प्राचीन प्रस्तरका गेट, चुला, सिलौटा, ढुङ्गे घडा निरन्तर खिइँदै र टुक्रिँदै गएका छन् । 

आश्रम चितवनको माडी नगरपालिका वडा १ मा रहेको भए पनि यहाँका स्थानीय वाल्मीकि आश्रम जान भारतको बाटो भएर जानुपर्ने हुँदा पनि आश्रम ओझेलमा परेको उहाँको भनाइ छ ।

भारतीय भूमि प्रयोग गरेर जानुपर्ने बाध्यता अन्त्य गर्न भन्दै नवलपुरको विनयी त्रिवेणीको गजेन्द्रमोक्ष धामबाट निर्माण गरिएको झोलुङ्गे पुलको निर्माण सम्पन्न भए पनि निकुञ्जको अवरोधका कारण सञ्चालनमा नआउँदा आश्रममा जान भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । पुरातात्त्विक वस्तुहरू यत्रतत्र छरिएर रहँदासमेत तीनै तहको सरकारको ध्यान नगएको मन्दिरका पुजारी सुवेदीले बताउनुभयो ।  


वाल्मीकि आश्रम ८८ हजार ऋषिमुनिले हवन गरेको कुण्ड, लवकुशले घोडा बाँधेको खम्बा रहेको स्थान, विष्णुचक्र, सीता भासिएको र सीताको सिलौटो लोहोरो रहेको स्थान, लवकुश जन्मेको स्थान, अमृत कुवा, वाल्मीकिको समाधिजस्ता रामायणमा उल्लेखित प्राचीन महत्वका वस्तुहरू छन् । 

राम भगवानले सीता मातालाई वनवासका लागि महर्षि वाल्मीकि ऋषिको आश्रममा छाडेको, भगवान् रामका छोराहरू लव कुशको जन्म भएको र सीतामाता पातालमा भासिएको स्थल जीर्ण अवस्थामा छ । 

नेपालबाट सिधै वाल्मीकि आश्रम आउने व्यवस्था भएमा यहाँ भक्तजन आउने र चहलपहल बढ्ने त्यस क्षेत्रमा व्यापार व्यवसाय गर्दै आउनुभएका एनिस राईले बताउनुभयो । बिजुली, मोबाइल नेटवर्क, खानेपानी र सडक सञ्जाल नहुँदा आश्रम परिसरमा साना–साना पसल चलाएर जीविका चलाउनेहरू समस्यामा परेका छन् । 

झोलुङ्गे पुलपारिको करिब १७ सय मिटर लामो पदमार्ग बनाउन सहरी विकास मन्त्रालयबाट २० लाख विनियोजन भएकाले पदमार्गको काम छिट्टै सुरु हुने विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो ।


नेपालदेखि भारतका टाढाबाट आश्रम अवलोकनका लागि आउने गरेका छन् । आश्रम हेर्न जाने पर्यटकको खानेपानीको व्यवस्था, शौचालय, प्रतीक्षालयलगायतका सामान्य सुविधा पनि बनाइएको छैन । नवलपुरको कावासोतीबाट आश्रममा पुग्नुभएका दीपक भट्टराईले पुरातात्त्विक दृष्टिकोणले महत्त्वपूर्ण रहेका सामग्रीको संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो ।