• १३ मंसिर २०८१, बिहिबार

१९ वर्षीया लेकिडोमा बनिन् निमावि स्थायी शिक्षक

blog

१९ वर्षमा शिक्षक बन्न सफल लेकिडोमा तामाङ । तस्बिर गोरखापत्र

राधा लुइँटेल 

फिदिम, माघ ८ गते । उन्नाइस वर्षको उमेरमै स्थायी शिक्षक ? यो कसरी सम्भव छ त ? पाँचथरको फाल्गुनन्द १ नवमीडाँडाकी लेकिडोमा तामाङ हालै शिक्षक सेवा आयोगले प्रकाशन गरेको नतिजामा निमावि तह शिक्षकको लिखित र अन्तरवार्तामा उत्तीर्ण भएर नियुक्तिका लागि सिफारिसमा पर्न सफल हुनुभएको छ ।

सिद्ध काली मावि फेदायक फिदिम ६ बाट २०७४ सालमा एसइई उत्तीर्ण उहाँ कोशी प्रदेशका लागि शिक्षक सेवा आयोगले गत वैशाखमा लिएको परीक्षामा सहभागी हुनुभएको हो ।

हाल उहाँ मोरङस्थित सुकुना बहुमुखी क्याम्पस बी ए दोस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ । तामाङ माघ २ गते प्रकाशित अन्तिम नतिजामा कोशी प्रदेशबाट गणित विषयमा निम्न माध्यमिक तहको शिक्षकमा सिफारिस  हो ।  गणित शिक्षकका रूपमा सिफारिस भएपछि उहाँलाई बधाई थाप्न भ्याइनभ्याई छ ।

उहाँले २०७६ सालमा फिदिम स्थित कञ्चनजङ्घा एकेडेमी उच्च माविबाट गणित विषममै कक्षा १२ उत्तीर्ण गर्नुभएको थियो ।

 उहाँले २०७९ सालमा अध्यापन अनुमतिपत्रको परीक्षा उत्तीर्ण गरेपछि खुलेको शिक्षक सेवा आयोगमा एकै पटक नाम निकाल्नुभएकी उहाँले अब स्थायी शिक्षकको नियुक्त पाउने पक्का भएको छ ।

तामाङ बाल्यकालबाटै पढाइमा तीक्ष्ण रहेको सिद्ध काली मावि फेदायकका प्रधानाध्यापक  नन्दीकेशर तुम्रोकले बताउनुभयो ।  

उहाँ २०६१ वैशाखमा जन्मन भएको हो । यद्यपि नागरिकतामा १४ वर्षमा एसइई दिन प्राविधिक कठिनाइ हुने देखिएकाले उमेर बढाएर २०६० पुस लेखिएको आमा वीर मायाले बताउनुभयो ।

‘एसइई दिन १४ वर्ष पूरा हुनुपर्ने थियो । कि कक्षा दोहोर्‍याउनुपर्ने भयो, कि उमेर बढाउनुपर्ने भयो । कक्षा नदोहोर्‍याएर उमेर बढाएर एसइई दिएकी हुँ,’ उहाँले भन्नुभयो  । लेकिडोमाका आमा । बुबा दुवै शिक्षण पेसामा हुनुहुन्छ ।

कक्षा ९ र १० मा ऐच्छिक गणित विषय पढ्ने उहाँ  एक्लो विद्यार्थी हुनुहुन्थ्यो । विद्यालयमा उहाँ साथीहरूलाई समेत गणित विषय सिकाउनुहुन्थ्यो  । ‘बुबा गणितको शिक्षक भएकाले साथीहरू घरमै ट्युसन पढ्न आउनुहुन्थ्यो । धेरैजसो मैले सिकाउँथेँ । उहाँले सुनाउनुभयो ।

उहाँका बुवा गणित र आमा सामाजिक विषय शिक्षण गर्नुहुन्छ । भाइ बहिनी भने माध्यमिक तहमै अध्ययनरत छन् ।

स्थायी शिक्षकमा सिफारिस हुनुभएकी लेकिडोमा सम्भवतः देशकै कान्छी शिक्षक हुनसक्ने शिक्षा तथा समन्वय एकाइ पाँचथरका प्रमुख युगमणि सवेहाङले बताउनुभयो ।