• ११ मंसिर २०८१, मङ्गलबार

भगवान् रामको प्राणप्रतिष्ठाको अवसरमा बिदा

blog

बाबुराम कार्की

वराहक्षेत्र, माघ ८ गते । हिन्दु धर्मावलम्बीहरूका भगवान् मर्यादा पुरुषोत्तम श्रीरामको आज सोमवार छिमेकी राष्ट्र भारतको अयोध्यामा नयाँ मूर्तिको प्राणप्रतिष्ठा विधिवत् रूपमा हुँदैछ । रामको मूर्तिको प्राणप्रतिष्ठाको अवसरमा सुनसरी जिल्लाका अधिकांश स्थानीय पालिकाले आज एक दिन सर्वजनिक बिदा दिएका छन् ।  

त्रेतायुगमा भगवान् रामको पाउस्पर्श भएको रामधुनी मन्दिरको नामबाट नामाङ्कन गरिएको रामधुनी नगरपालिकाले आज प्राणप्रतिष्ठाको अवसरमा एक दिन नगरपालिका अन्तर्गतका सम्पूर्ण वडा कार्यालय, विद्यालय र स्वास्थ्य संस्थाहरूमा अति आवश्यक सेवाबाहेक स्थानीय बिदा दिने निर्णय गरेको छ । 

त्यस्तै सुनसरी जिल्लाको सदरमुकाममा रहेको इनरुवा नगरपालिकाले पनि राम भगवानको अयोध्यामा हुने प्राणप्रतिष्ठाको अवसरमा आज एक दिन स्थानीय बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले अयोध्यामा रहेको श्री रामको नवनिर्मित मन्दिरको भूतलको गर्भगृहमा रामको बाल स्वरूपको मूर्तिको प्राणप्रतिष्ठाको अवसरमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ राम भगवानको आराधना गर्न इनरुवा नगरपालिका क्षेत्रभित्र स्थानीय बिदा दिने निर्णय गरेको बताइएको छ । नगरको निमित्त प्रशासकीय अधिकृत डिल्लीराज निरौलाको हस्ताक्षरमा सूचना जारी गरिएको छ । 

जिल्लाकै भोक्राहा नसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले पनि रामको प्राणप्रतिष्ठाको दिन पालिका क्षेत्रका सम्पूर्ण कार्यालय बन्द गर्न एक दिन स्थानीय बिदा दिएको बताउनुभयो । अध्यक्ष अजमलका अनुसार पालिका क्षेत्रमा रामजानकी मन्दिरहरू भएकाले सो अवसरमा गौरवका साथ गाउँपालिकामा हर्षोल्लासका साथ दीपावली गर्ने, भजन कीर्तन, आराधना गर्न स्थानीय बिदा दिइएको हो । गाउँपालिकाले सम्बन्धित धार्मिक क्षेत्रहरूमा माछा मासु तथा मदिराको बिक्री वितरण नगर्नसमेत सम्पूर्ण व्यवसायीहरूमा सूचना जारी गर्दै अनुरोध गरेको छ । 

 जिल्लाको कोशी गाउँपालिकाले पनि आज एक दिन स्थानीय बिदा दिएको छ । गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीले भारतको अयोध्यामा हिन्दु धर्मावलम्बीहरूका भगवान् रामको मूर्तिको प्राणप्रतिष्ठा हुने अवसरमा गाउँपालिकामा बिदा दिएको बताउनुभयो । पालिकाले हर्षोल्लासका साथ दीप प्रज्वलन, भजन कीर्तनलगायतका अनुष्ठान गर्ने अवसरलाई गौरवका साथ मनाउन अति आवश्यक सेवाबाहेक गाउँपालिकामा एक दिन स्थानीय बिदा दिएको अध्यक्ष अन्सारीले बताउनुभयो । गाउँपालिकाले घरघरमा दीपावली गर्न सम्पूर्ण गाउँवासीमा सूचना जारी गरेर अनुरोध गरेको छ । 

कोसी गाउँपालिका क्षेत्रमा रहेका सबै मठमन्दिरमा सरसफाइ गरी पूजाआजा गर्न सूचनामा उल्लेख गरिएको छ । भगवान् रामको प्राणप्रतिष्ठाका दिन कोसी गाउँपालिका क्षेत्रमा माछा मासु तथा मदिराको बिक्री वितरण बन्द गर्नसमेत सम्पूर्ण व्यवसायी हरूलाई सूचना जारी गरेरै पालिकाले अनुरोध गरेको छ । 

प्रष्ठिाको अवसरमा रामधुनी मन्दिर, चतराको हनुमान मन्दिर, प्रकाशपुरको रामजानकी मन्दिर, धरानको राम मन्दिरलगायत जिल्लाका मठ मन्दिरहरूमा भजन, कीर्तन, अनुष्ठानसहित दीप प्रज्वलन गरिने भएको छ । 

रामको प्राणप्रतिष्ठाकै अवसरमा रामधुनी मन्दिरलाई रामायण सर्किटमा जोड्ने मागसहित मधेसी मिथिला एकता समाज, छट माता सेवा समिति रामधुनी, झुम्काले झुम्केश्वर मन्दिर अगाडि आज बेलुका दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।