• ७ जेठ २०८१, सोमबार

भैँसे–भीमफेदी सडक निर्माण कार्य तीव्र

blog

मकवानपुर समाचारदाता

हेटौँडा, माघ ८ गते । हेटौँडालाई काठमाडौँसँग जोड्ने छोटो दुरीको मार्ग अन्तर्गत भैँसे–भीमफेदी सडकखण्डको स्तरोन्नतिले पछिल्लो समय तीव्रता पाएको छ । भैँसे–भीमफेदी सडकखण्डको विभिन्न स्थानमा सडक सीमा विस्तारका मुआब्जा र क्षतिपूर्तिका कारण धिमा गतिमा सडक स्तरोन्नतिको काम हुँदै आएकामा पछिल्लो समय घरटहराको क्षतिपूर्तिको समस्या समाधान हुँदै गएसँगै सडक स्तरोन्नतिले तीव्रता पाएको हो । 

बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौँ जोड्ने विभिन्न सडकको स्तरोन्नतिको कार्य सुरु गरे पनि मन्द गतिमा काम भइरहेको भन्दै सडकदेखि प्रदेश सभा बैठकमा समेत सरकारको विरोध हुँदै आएको छ । प्रदेश सभाको अघिल्लो कार्यकालको सुरुवातीदेखि नै हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीको मार्ग जीर्ण भएका कारण आवागमनमा समस्या भएको बताउँदै प्रदेश सभाका सदस्यले आवाज उठाउँदै आएका थिए । 

भीमफेदी गाउँपालिका–४ को विभिन्न स्थानमा सडक सीमा विस्तारका क्रममा स्थानीयले घरजग्गाको मुआब्जा र क्षतिपूर्तिको माग गरेपछि स्तरोन्नति प्रभावित बन्दै आएको थियो । गत पुसमा भीमफेदी गाउँपालिका–४ को गोल्पिङलगायतका क्षेत्रमा घरटहराको क्षतिपूर्तिसम्बन्धी तीन वर्षदेखिको विवाद समाधान भएपछि सडक चौडालगायत कालोपत्रे गर्ने कार्यले तीव्रता पाएको हो । सो क्षेत्रमा घरटहराको क्षतिपूर्तिसम्बन्धी विवाद समाधान गर्दै करिब २५ वटा घरटहरा हटाइएको जनाइएको छ ।

गोल्पिङलगायतका क्षेत्रमा घरटहराको क्षतिपूर्तिको विवाद समाधान भएसँगै पछिल्लो पटक थपिएको समय चैतसम्ममा विवाद नरहेका र पहिरो नजाने क्षेत्रमा कालोपत्रे कार्य पूरा हुने बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात पूर्वाधार निर्देशनालय, हेटौँडाले जनाएको छ ।

निर्देशनालयका प्रवक्ता इन्जिनियर हरिप्रसाद ओझाले क्षतिपूर्तिलगायतका समस्या देखाउँदै भैँसे–भीमफेदी सडकखण्ड अन्तर्गत विभिन्न स्थानमा अवरोध रहेकामा अहिले ९० प्रतिशतभन्दा बढी भागमा समस्या समाधान भएर सडक स्तरोन्नतिका लागि खुला भएसँगै कालोपत्रेसमेत गर्ने काम सुरु भएको जानकारी दिनुभयो । उहाँले पछिल्लो समय भीमफेदी गाउँपालिका–४ को गोल्पिङ क्षेत्रको करिब तीन सय मिटर क्षेत्रमा क्षतिपूर्तिको समस्या समाधान भएको बताउँदै चिउरी बगैँचा क्षेत्रमा भने विवाद यथावत् रहेको बताउनुभयो ।

उहाँले चिउरी बगैँचा क्षेत्रमा घरटहराको मूल्याङ्कनबापतको रकममा स्थानीयले चित्त नबुझाउँदा करिब तीन मिटर क्षेत्रमा रहेको समस्या समाधानका लागि पहल भइरहेको बताउनुभयो । भैँसेदेखि भीमफेदीसम्म ११ किलोमिटर पाँच मिटर सडक स्तरोन्नतिको योजनासहित ठेक्का लगाइएकामा क्षतिपूर्तिको विवाद कायम रहेको क्षेत्र र पहिरो जाने क्षेत्रमा बाहेक अन्यत्र सडक स्तरोन्नतिको कार्य धमाधम भइरहेको छ ।

क्षतिपूर्ति विवाद रहेको चिउरी बगैँचा क्षेत्रसहित पहिरोको समस्या रहेको भैँसेनजिकै र धोर्सिङको केही भागमा बाहेक अन्यत्र फागुनसम्ममा कालोपत्रेको काम सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको छ । सडक स्तरोन्नति अन्तर्गत सडक चौडा, कालोपत्रे, टेवा पर्खाल निर्माण, ढल निर्माणलगायतका काम हुने छ । सडक स्तरोन्नतिका क्रममा सडकको ८० प्रतिशत काम सम्पन्न भएको जानकारी दिँदै प्रवक्ता ओझाले भन्नुभयो, “कालोपत्रेपछि सडकको सौन्दर्यीकरणलगायत फिनिसिङको काम हुने छ ।” २०७७ साल असार २४ गते दुई वर्षमा भैँसे–भीमफेदी सडकखण्डको स्तरोन्नति गर्ने गरी निर्माण कम्पनीले सम्झौता गरेकामा कोभिड–१९, घरटहराको क्षतिपूर्तिको विवादलगायतका कारण देखाउँदै निर्माणमा ढिलाइ हुँदै आएको छ ।

सडकखण्डको स्तरोन्नतिको ठेक्का लगाएको लामो समयसम्म पनि हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीको मार्गको विभिन्न सडकखण्डको स्तरोन्नतिको समय लम्बिँदै गएसँगै सडकको निर्माण लागतसमेत बढ्दै गएको छ । सुरुवातमा करिब ३९ करोड रुपियाँको लागतमा सडक स्तरोन्नतिको काम गर्ने गरी निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएकामा विभिन्न कारण देखाउँदै अहिले निर्माण लागत ४२ करोड ६५ लाख रुपियाँ पु-याइएको छ । 

प्रवक्ता ओझाले पहिरो जाने क्षेत्र र बस्ती रहेको क्षेत्रमा तारजालीलगायत टेवा पर्खालको काम बढ्दा लागत बढ्न गएको भन्दै अगाडि भन्नुभयो, “सडकखण्ड अन्तर्गत हालसम्म साढे दुई किलोमिटर सडक कालोपत्रेको काम पूरा भएको छ । निर्देशनालयका प्रवक्ता ओझाका अनुसार सडक निर्माणको सुरुको सम्झौता अनुसार निर्माणको काम समयमा पूरा नभएपछि दुई पटक ठेक्का सम्झौताको म्याद थप्दै चैतसम्म पु¥याएको छ । एक पटक एक वर्ष र अर्को पटक नौ महिना म्याद थप गरिएको छ । सडकखण्ड अन्तर्गत एउटा पुल निर्माण पूरा नभएको र चार वटा पुल निर्माणाधीन रहेको छ ।