• ७ जेठ २०८१, सोमबार

कोदोले भाउ पाउन थाल्यो

blog

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, माघ ८ गते  । सिन्धुली जिल्लामा पछिल्लो समयमा कोदो खेतीबाट राम्रो आम्दानी हुन थालेपछि किसान दङ्ग छन् । जिल्लामा केही वर्ष पहिलेसम्म हेपाइको बालीमा पर्ने कोदो खेतीबाट पछिल्लो समयमा अन्य बाली धान, मकै र गहुँको तुलामा झन्डै दोब्बरले आम्दानी हुन थालेपछि किसान कोदो खेतीप्रति आकर्षित बनेका हुन् ।

घरेलु मदिरा र ढिँडोका लागि कोदोको माग बढी हुन थालेपछि किसान उक्त खेतीप्रति आकर्षित हुन थालेका हुन् । कोदो पछिल्लो समयमा धान र मकैभन्दा झन्डै दोब्बर मूल्यमा बिक्री हुन थालेको किसानले बताएका छन् । अहिले जति कोदो फलाए पनि व्यापारीले घरमै आएर राम्रो मूल्य दिएर खरिद गरी लैजाने गरेको कमलामाई नगरपालिका–२, भद्रकाली निवासी किसान वीरबहादुर तामाङ बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “बरु धान मकै, बिक्री गर्न मुस्किल पर्छ, कोदो जति फलाए पनि बिक्रीको चिन्ता छैन ।” व्यापारीले घरेलु मदिरा बनाउन र बिपी राजमार्गमा खुलेका होटलले ढिँडो बनाई बिक्री गर्न कोदो लैजाने गरेको उहाँले सुनाउनुभयो । 

किसानका अनुसार अहिले कोदो प्रतिपाथी दुई सय रुपियाँसम्ममा बिक्री हुने गरेको छ तर धान र मकैको मूल्य भने प्रतिपाथी मुस्किलले एक सय रुपियाँ रहेको छ । बढ्दो मागकै कारण कोदोको भाउ चुलिँदै गएको छ । गोलन्जोर गाउँपालिका–५ निवासी किसान तेजबहादुर मगर यो वर्ष आफूले छ मुरी कोदो बिक्री गरिसकेको बताउनुहुन्छ । धान र मकैको तुलनामा कोदो खेती किसानको रोजाइमा पर्दै गएको उहाँको भनाइ छ । 

त्यस्तै कमलामाई नगरपालिका–५ स्थित एक होटल सञ्चालकले नाम उल्लेख नगर्ने सर्तमा बर्सेनि आफूले याममा २० मुरीभन्दा बढी कोदो किनेर राख्ने गरेको बताउनुभयो । पहिला नै कोदोका लागि बैना (पेस्की) दिएकाले भने जति कोदो पाएको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, “भनेको समयमा कोदो पाइँदैन, त्यही भएर अगाडि नै बैना दिने गरेको छु । बैना दिएपछि किसानले अर्कोलाई बिक्री गर्दैनन्, ढुक्क हुन्छ ।” ती होटल सञ्चालकका अनुसार घरेलु मदिराका लागि कोदो सबैभन्दा उत्तम मानिन्छ । घरेलु रक्सी, तोङ्वा, निगार, जा“डलगायतका मदिराका परिकार कोदोबाट बनाउने चलन छ ।

“निखार कोदोको भनेपछि मदिराका पारखी हुरुक्कै हुन्छन्,” तिनै होटल सञ्चालकले थप्नुभयो, “कोदोको छ है भनेपछि धाएर खान आउँछन् । अन्य अन्न मकै, चामलभन्दा कोदोको मदिराका परिकारले ग्राहक तानेको छ ।” घरेलु मदिरा बनाएर बिक्री गर्न कानुनले रोके पनि लुकेर उत्पादन गरी बिक्री गर्ने गरेको उहाँको भनाइ छ । 

जुनारको राजधानी भनेर चिनिने गोलन्जोर गाउ“पालिका–४, तीनकन्याका किसानले त जुनार बगैँचाभित्र समेत कोदो खेती गरेर दोहोरो आम्दानी लिएका छन् । तीनकन्या माझकुभिन्डेका किसान जितबहादुर ठकुरीका अनुसार केही वर्ष अघिसम्म कोदो बालीलाई तल्लोस्तरको खेतीका रूपमा लिइन्थ्यो । उत्पादन भएको कोदो बिक्री नभएपछि गाईवस्तु तथा सुं“गुरलाई खोले बनाएर खुवाउने चलन थियो । “यतिखेर उत्पादन भएको कोदो कतै बिक्री गर्न लैजान पर्दैन,” उहाँले भन्नुभयो, “बारीमा नै ग्राहक आएर पहिला नै बैना मार्ने चलन बसिसक्यो ।”

तीनकन्याबाहेक जिल्लाका रतनचुरा, बासेश्वर, भुवनेश्वरी, बितिजोर, डुडभन्ज्याङलगायतका ठाउँमा कोदो खेती हुने गरेको छ । एक रोपनीमा सरदर चार मुरी कोदो उत्पादन हुने गरेको छ । सिन्धुली जिल्लामा बर्सेनि झन्डै १२ हजार हेक्टर जमिनमा कोदो खेती हुँदै आएको र १० हजार मेट्रिक टनभन्दा बढी उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।