• १३ साउन २०८१, आइतबार

सम्पर्क नम्बरसहित प्रहरी घर घरमा

blog

अछाम समाचारदाता 

मङ्गलसेन, माघ ८ गते । कमलबजार नगरपालिकाको हरेक घरका ढोकामा निलो स्टिकर नम्बरहरू टाँसिएका छन् । हत्या, हिंसा, अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न नागरिकलाई प्रहरीसँग सहज सम्पर्कका लागि नम्बरहरू टाँसिएका हुन् । इलाका प्रहरी कार्यालय कमलबजारले आपराधिक कार्य, विपत्, दुर्घटनाका सूचनामा सहजता र आवश्यक कानुनी कारवाहीका लागि सूचना प्रहरीसम्म पुर्‍याउनका लागि घर घरमा सम्पर्क नम्बर टाँसिएको बताइएको छ ।

पब्लिक र प्रहरीबिचको सम्बन्धलाई नजिक बनाउन घर घरमा प्रहरीको नम्बर टाँस्ने अभियान गरिएको प्रहरी कार्यालय कमलबजारका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले बताउनुभयो । कमलबजार प्रहरीले नगरका १० वडामा १६ दिनको अवधिमा तीन हजार ८९३ घरमा नम्बर टाँसेको निरीक्षक जोहारीको भनाइ छ । घर घरमा टाँसिएका नम्वरहरूमा जिल्ला प्रहरी कार्यालय, कमलबजार र त्यस अन्तर्गतका प्रहरी चौकीको नम्बर राखिएका छन् ।  

स्थानीयले गाउँमा हुने गलत गतिविधि नियन्त्रण गर्न तथा कुनै घटनाको सम्बन्धमा तत्काल प्रहरीलाई सूचना दिन सहज हुने बताएका छन् । गाउँमा केही घटना भयो, आपत्विपत् पर्‍यो भने पुलिसलाई सजिलै फोन गर्न सकिन्छ भन्ने बुझाइ स्थानीयको छ । 

कमलबजार नगरपालिका–८, डुका ५२ वर्षीय कमल चलाउनेले घर, पसल, सार्वजनिक स्थानमा समेत प्रहरीले सम्पर्क नम्बर टाँसेको जानकारी दिनुभयो ।  प्रहरीको नम्बरमा सबैको पहुँच भएपछि गाउँ घरमा हुने हिंसा, घरेलु हिंसा र अन्य गलत क्रियाकलाप नियन्त्रणमा आउने भनाइ स्थानीय जनप्रतिनिधि ठम्मरा भाटको छ । 

प्रहरीले सम्पर्क नम्बर टाँसेसँगै प्रहरीलाई के कस्तामा फोन गर्र्ने भन्नेमा समेत प्रहरीले बुझाउने गरेको स्थानीयको भनाइ छ । घे अवस्थामा सम्पर्क गर्नेलगायतका जानकारी दिने गरेको छ । स्थानीयले राति १०/१२ बजेसम्म पनि फोन गर्ने गरेको जानकारी प्रहरीले दिएको छ ।

“रक्सी खाएर गाली गर्‍यो, झैझगडा गर्‍यो भनेर पनि फोन आउन थालेका छन्,” प्रहरी निरीक्षक जोहारीले भन्नुभयो । ट्राफिक नियमको उलङ्घन गर्ने, मदिरा सेवनले समाज र घरमा अशान्ति, घरझगडा, सामाजिक कामका गुनासा बढेको बताइएको छ । 

इलाका प्रहरी कार्यालय कमलबजारले आफ्नो कार्यक्षेत्र रहेका अन्य तीन स्थानीय तहमा समेत यस्तो अभियान चलाउने कार्ययोजना बनाइरहेको छ । कमलबजार नगरपालिका, पञ्चदेवल विनायक नगरपालिका, ढकारी र तुर्माखाँद गाउँपालिका गरेर चार स्थानीय तह कमलबजार इलाका प्रहरीको कार्यक्षेत्र रहेको छ ।