• १३ साउन २०८१, आइतबार

स्वदेशमै ‘लर्न एन्ड अर्न’ योजना बन्दै

blog

टीकापुर समाचारदाता

टीकापुर, माघ ८ गते । सुदूरपश्चिम विश्वविद्यालयमा कृषिमा स्नातक पढेका पहिलो ब्याचका ४९ जना विद्यार्थी ‘लर्न एन्ड अर्न’ कार्यक्रमका लागि इजरायल पठाउँदा पहिलो गाँसमै ढुङ्गा लागेपछि दोस्रो ब्याचका विद्यार्थीलाई स्वदेशमै सिक्ने र कमाउने योजना सुरु भएको छ ।

विश्वविद्यालयले उत्पादन गरेका विद्यार्थी इजरायल पठाउँदा गत असोज २० गते बिद्रोही हमास समूहको आक्रमणमा परी १० जनाको ज्यान गएको थियो भने एक जना बेपत्ता र केही घाइते छन् । 

इजरायल घटनाले दिएको चोटबाट पाठ सिक्दै दोस्रो ब्याचका ९३ जना विद्यार्थीलाई नेपालमै रोजगार सृजना गर्न थालिएको छ । कृषि पढेका विद्यार्थीको स्वदेशमै व्यवस्थापन गर्न सकेको भए इजरायल किन जान्थे ? यसले पहिलो गाँसमै ढुङ्गा भयो, सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायका डिन सहप्राध्यापक डाक्टर विष्णुविलास अधिकारीले भन्नुभयो, “अब लर्न एन्ड अर्न कार्यक्रमका लागि देश बाहिर होइन आफ्नै देशमा गर्ने हो, हाम्रा विद्यार्थीले लर्न पनि गर्ने अर्न पनि गर्ने, देशभित्रै अटाउने बाहिर नजाने मनस्थितिका साथ १० वटा स्पोन्सर संस्था खोजेका छौँ, उहाँले भन्नुभयो, त्यही काम गर्छन्, नेपालमै रोजगारी सृजना हुन्छ ।” 

दोस्रो ब्याच आठौँ सेमेस्टरका विद्यार्थीलाई छ महिनाका लागि इन्टर्न गर्न स्पोन्सर कहाँ पठाइँदै छ । यस्ता स्पोन्सरमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मुक्तिनाथ कृषि कम्पनी,  रानी जमरा कुलरिया सिँचाइ आयोजनालगायतका रहेका छन् । 

उक्त परियोजनामा ४० जना, मुक्तिनाथमा २० जना र सिँचाइमा १० जना विद्यार्थी पठाउने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले कृषि शिक्षा पढेका विद्यार्थीमा व्यावहारिक ज्ञान र क्षमता विकास गर्न सात वटा संस्थानका ४९० जना विद्यार्थीलाई भत्तासहित जिल्लास्थित परियोजना कार्यालय, ज्ञान केन्द्र र फार्ममा काम लगाउने परियोजनाका वरिष्ठ अनुगमन मूल्याङ्कन अधिकृत तथा सूचना अधिकारी हिक्मतकुमार श्रेष्ठले बताउनुभयो । 

विद्यार्थी कपिल शर्माले इन्टर्न गर्ने बेला नै खर्चसहित काम गर्ने अवसर र काम गर्दा सरकारी कृषि परियोजना, राष्ट्रिय अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत् किसानसँग घुलमिल हुने अवसरले स्नातक पूरा गरिसकेपछि ती संस्थामा जागिर वा आफैँ कृषि फार्म खोल्न सकिनेसम्मको अनुभव बटुल्न पाइने बताउनुहुन्छ ।