• १७ जेठ २०८१, बिहिबार

बालाजुमा पानी पुनर्भरण

blog

काठमाडौँ, माघ ८ गते । काठमाडौँ महानगरपालिकाले बालाजु पार्कको जलाधार क्षेत्रबाट वार्षिक करिब तीन करोड लिटर (३० हजार किलोलिटर) पानी पुनर्भरण गर्ने गरी ‘वाटर रिचार्ज’ प्रणाली निर्माण गरेको छ । आकाशबाट परेको पानी जमिनमुनि पठाउन यो प्रणालीको निर्माण गरिएको हो । 

सो पानी पुनर्भरण प्रणालीमा २१ वटा फिल्टर च्याम्बर, २१ वटा रिचार्ज इनार, दुई वटा थिग्य्राउने च्याम्बर, ७५ फिट गहिरो पुनर्भरण खाडल र सात वटा बाँसका बाँध बनाइएको महानगरपालिकाले जनाएको छ । महानगरले ‘सेन्टर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्ट र वाटर एड नेपाल’ सँगको सहकार्यमा सो प्रणाली निर्माण गरेको हो ।

पानी पुनर्भरण प्रणाली निर्माण स्थलमा आयोजित कार्यक्रममा निर्माण साझेदार संस्थाले संयुक्त रूपमा सो पानी पुनर्भरण प्रणाली र यसको सञ्चालन गर्ने विधि पुस्तिका महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोललाई हस्तान्तरण गर्नुभयो । 

पुस्तिका ग्रहणपछि उपप्रमुख डङ्गोलले पुनर्भरण प्रणाली निर्माणसँगै बालाजु क्षेत्रमा पानीको प्राकृतिक बहाव बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सहरमा पानीको अभाव छ । बर्खाको पानी बगेर खेर जान्छ । हिउँदमा पानीको अभाव हुन्छ । यसलाई सन्तुलन गर्न पानी पुनर्भरण प्रणाली निर्माण गरेका छौँ ।” उहाँले काठमाडौँमा पानीको सबैभन्दा धेरै अभाव हुने लगन क्षेत्रमा समेत पानी पुनर्भरण प्रणाली विकास गर्ने महानगरपालिकाको योजना रहेको जानकारी दिनुभयो ।

वाटर एडका नेपाल निर्देशक जेसम थोमसले स्वच्छ पानीको पहुँच बढाउन साझेदारीका थप काम गर्न सकिने बताउनुभयो । सेन्टर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्टका कार्यकारी निर्देशन नवीन महर्जनले पानी पुनर्भरण कार्यक्रमसँगै पानीको संरक्षण गर्नु पर्छ भन्ने सामाजिक सचेतना र सहभागिता बढ्ने विश्वास व्यक्त गर्नुभयो । यस प्रकारका प्रयासले तीव्र सहरीकरणका कारण बढेको पानीको चरम अभाव कम गर्न समुदायले दायित्व लिँदै जाने अपेक्षा गरिएको उहाँको भनाइ थियो ।

परम्परागत रूपमा काठमाडौँवासीले पानीका प्रमुख स्रोतका रूपमा भूमिगत जल नै प्रयोग गर्ने गरेका थिए । राजकुलो र पोखरीबाट पानी पुनर्भरण हुने गथ्र्यो । जमिनमा जम्मा भएको पानी तल जान सक्थ्यो । पछिल्लो समयमा अत्यधिक भूमिगत पानी दोहन हुन थाल्यो । 

अव्यवस्थित भवन निर्माण र सडकले सतहको पानी जमिनमुनि जानुको सट्टा बगेर गयो । जलवायु परिवर्तनका कारण वर्षा हुने समय र प्रक्रिया परिवर्तन भयो । पछिल्लो समय छोटो अवधिमा अधिक पानी पर्ने हुनाले प्राकृतिक रूपमा पानी पुनर्भरणमा समस्या सिर्जना भएको छ । यसको निर्माण कार्य गएको वैशाख ९ गते सुरु गरिएको थियो । कुल ४३ लाख ६० हजार रुपियाँ लागतमा यस रिचार्ज प्रणाली निर्माण सम्पन्न भएको हो ।